कर्मचारीबाट सताइँदै जनप्रतिनिधिः घुस माग्नेदेखि ल्यापटप बोकेर भाग्नेसम्म



२५ साउन, ओखलढुंगा । पसी शेर्पा ओखलढुंगाकी एकमात्र महिला वडाध्यक्ष हुन् । खिजीदेम्वा गाउँपालिका वडा नं. ९ की वडा अध्यक्ष शेर्पालाई उनकै मातहतका कर्मचारीले नराम्ररी झुक्याएछन् ।

भूकम्प पीडितको घर निरीक्षण र सल्लाह दिन खटिएका एक प्राविधिकले घरको फोटो खिच्नु पर्ने भन्दै प्रति घर ७ सयका दरले रकम असुले । त्यस्तै सोही गाउँपालिकाका अन्य वडामा खटिएका प्राविधिकहरुले समेत घर निरिक्षणको रिपोर्ट पेश गर्न भन्दै तीन जना प्राविधिक मिलेर १४ पीडितबाट दुई सयका दरले दुई हजार आठ सय असुले ।

यसरी प्राविधिकले घुस खाएको सूचना त्यस गाउँपालिकाका प्रमुख वेदबहादुर रोकालाई पत्रकारहरुले सोधेपछि थाहा मात्र पाए । ‘मैले त पत्रकारहरुले सोधेपछि थाहा पाएँ,’ उनले अचम्म मान्दै भने, ‘वडा अध्यक्षलाई समेत झुक्याएर घुस खान भ्याएछन्, गाली गरे कामै छोडेर भाग्छन् ।’

गाउँपालिका प्रमुखले सोधखोज गरेपछि दुई सय उठाउने प्राविधिकले रकम फिर्ता गरे पनि सात सय उठाउने प्राविधिक कार्य क्षेत्रमै छैनन् । आर्थिक अनियमितता मुछिएका विषयमा विगतमा छानविन नै गर्ने स्थानीय प्रशासनले अहिले घुस खाने कर्मचारीको खोजी समेत गरेको छैन ।

पसी शेर्पाको वडाका सचिव गणेश बास्तोलाले उनलाई बरबुझारथको कागज गराई सरुवा भएर गएका छन् । उनले पहिले गाविसले किनेको ल्यापटप भने बुझाएका छैनन् । गाउँपालिका प्रमुखलाई समेत उनले ल्यापटपबारे जानकारी दिएनन् ।

उनले साविकको खिजीकाति गाविस (हाल खिजीदेम्वा ४) ले किनेको ल्यापटप समेत यसअघि पनि नबुझाइ अर्कै गाविस सरुवा भएका थिए । उनी आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष समेत हुन् ।

ल्यापटपबारे सुनेपछि सोधखोज गर्दा अर्कै गाविसको भनेर टारेको प्रमुख रोकाले बताए । उनले रमाना दिँदा ल्यापटप दाखिला गर्न निर्देशन दिएको जानकारी दिए । घुस माग्ने प्राविधिकलाई शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले कार्यालयमा बोलाई खटाएका अर्का प्राविधिक दुई दिन पनि गाउँ नबसी विरामी भएको भनेर रामेछाप गएको प्रमुख रोकाले जानकारी पाए ।

यसरी स्थानीय तहका कर्मचारीहरुले अनुभव कम भएका जनप्रतिनिधीलाई हैरान पारेका छन् । कर्मचारीको व्यवहारबारे सुनाउँदा खिजीदेम्वाका प्रमुख रोकाले हास्दै भने, ‘सोझालाई झुक्याएर घुस नै खान खोज्छन्, कडा भए कार्य क्षेत्रमै बस्दैनन्, स्थानीय तहमा काम गर्न ठूलै चुनौति रहेछ ।’

जनप्रतिनिधिको अपमान

स्थानीय तहका केही कर्मचारीहरुले ‘अनुभव नभएका नेताहरुको अण्डरमा बस्नु पर्ने भन्ने कतै लेखेको छैन’ भनेर खुलेआम जन प्रतितिनिधिको नेतृत्व अस्वीकार गर्दै आएका छन् । कतिले कानुनले नमिल्ने खालका समस्या आए जनप्रतिनिधिले नचाहेर नगरेको हो, उतै सोध्नुस् भनेर सेवाग्राहीलाई उचालेर पठाइदिने गरेको एक जना वडा अध्यक्षले गुनासो गरे ।

कर्मचारीको काम कारवाही र व्यवहारबाट रोका मात्र होइन, सदरमुकाम रहेको एक मात्र सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ पनि हैरान छन् । स्वीस सरकारको सहयोगमा सञ्चालित सडक परियोजनाले नगरपालिकाकालाई केही सामग्री हस्तान्तरण गर्ने तय गरेर नगरपालिकालाई आफूसँग भएका सामग्रीको विवरण बुझाएर आवश्यक सामग्रीको सूची दिन भनेको थियो । मेयर श्रेष्ठले कार्यकारी अधिकृतलाई सो विवरण तयार गर्न लगाउन भने पनि कर्मचारीहरुले तत्कालै तयार गरेनन् ।

०७४ साउन २५ गते जिल्ला वन कार्यालयले राष्ट्रिय वन दिवसमा आयोजना गरेको पुरस्कार वितरण तथा अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी (निजामती सेवाका उपसचिव) फणिन्द्र दाहाललाई प्रमुख अतिथि र मेयर मोहन श्रेष्ठलाई विशेष अतिथी बनायो । यसले पनि कर्मचारीतन्त्रले जनप्रतिनिधीहरुलाई सहज रुपमा स्वीकार नगरेको पुष्टि हुन्छ । कार्यक्रममा बोल्दै श्रेष्ठले जनप्रतिनिधि जनताबाट निर्वाचित भएर विधि र प्रकृया अनुसार आफ्नो मर्यादामा रहेर काम गर्ने भन्दै घुमाउरो भाषामा असन्तुष्टि पोखे ।

जबकी नेपाल सरकारले राजपत्रमा सूचना नै निकालेर नगरपालिकाका मेयरको मर्यादाक्रम १९ औं रहेको उल्लेख गरेको छ । कर्मचारीका यस्ता व्यवहार र कामकारवाहीबारे जनप्रतिनिधिहरुले समेत खुलेर कुरा राख्न सकेका छैनन् ।

अन्य कार्यक्रमहरुमा पनि मेयर श्रेष्ठले सहयोग गर्न कर्मचारीहरुलाई पटक-पटक आग्रह गर्ने गरेका छन् । यसले कर्मचारीहरुले जनप्रतिनिधिलाई काममा अप्ठेरो पारेको सहज अनुमान लगाउन सकिन्छ ।

यस्ता घटनाक्रमले २० वर्षसम्म एकलौटी गरेका कर्मचारी तन्त्रका लागि अधिकार कटौति हुनु र जननिर्वाचित पदाधिकारीहरुको मातहतमा बस्न कठिन भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका