एमाले सचिवालय बैठक सुरु, आजै केन्द्रीय समिति बैठक


काठमाडाैं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको छ।

केहीबेरअघि सुरु भएको बैठकले आजै बस्ने केन्द्रीय समितिका अजेण्डे तय गर्ने छ । आइतबार पनि बसेको सचिवालय बैठकका आज निरन्तरता भएको एमालेले जनाएको छ ।

आइतबार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि सचिवालय बैठक स्थगित भएको थियो । कार्यदलले संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार पारेका छुट्टै प्रतिवेदनलाई एकीकृत गरी बुझाएको थियो ।

उक्त प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेस हुनेछ । केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बस्ने कार्यक्रम छ।

फागुनमा भएको निर्वाचनपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ।

पछिल्लो समय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल मिलेपछि सचिवालयमा उनीहरुको पक्षमा बहुमत छ । अध्यक्ष ओली अल्पमतमा परेका छन् । ओलीलाई हटाउन एमालेमा तल्लो तहदेखि नै आवाज उठिरहेको बताइन्छ । यस्तो बेला केन्द्रीय समितिले के निर्णय गर्छ भन्ने आम कार्यकर्ताको प्रतीक्षा छ ।