‘देश दर्शन, स्वास्थ्य र संवाद’सँगै महासंघकाे ‘रानीकोट हाइकिङ


भक्तपुर – शहरको कोलाहल, धुलो–धुवाँ र दैनिक भागदौडबाट टाढा प्राकृतिक वातावरणमा केही समय बिताउन पाउँदा मन हलुङ्गो हुन्छ भन्ने अनुभूति दिलाउँदै नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले यस वर्षदेखि नियमित हाइकिङ कार्यक्रम सुरु गरेको छ। ‘देश दर्शन, स्वास्थ्य र संवादका लागि हाइकिङ’ भन्ने नारासहित सुरु गरिएको अभियान अन्तर्गत पहिलो हाइकिङ यात्रा शनिबार भक्तपुरको सूर्यविनायकदेखि रानीकोटसम्म सम्पन्न गरिएको हो ।

झण्डै तीन दर्जन उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीको सहभागितासहित वरिष्ठ उपाध्यक्ष तथा महासंघका आगामी अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा टोली बिहानै सूर्य विनायक गणेश मन्दिर परिसरबाट प्रस्थान गरेकाे थियाे । प्राणी उद्यानको हरियाली, पाइलट बाबा, चुच्चेढुंगा हुँदै घ्याम्पे डाँडासम्मको उकालो पार्दा सूर्योदयका किरण र जङ्गलको स्वच्छ हावाले यात्रुलाई नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूले बताए ।

घ्याम्पे डाँडाबाट तीन किलोमिटर पैदल यात्रा पछि रानीकोट पुगेको टोलीले चिसो हावा, १८० डिग्री फैलिएको हिमशृङ्खलाको दृश्य, बाघ भैरवको ढुंगामूर्ति र स्थानीय परिवेशलाई नजिकबाट अवलोकन गरेकाे बताए । त्यहाँ पुगेपछि पर्यटन व्यवसायी तथा भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक राम सुन्दर बकेले स्वागत गरेका थिए । कार्यक्रमपछि उद्योगी–व्यवसायी र पत्रकारबीच आन्तरिक पर्यटनका सम्भावना, प्रभावकारी प्रवर्द्धनका उपाय तथा निजी क्षेत्रको भूमिकाबारे खुला छलफल गरिएको थियो ।

छलफलमा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वास्थ्य सुधार, नेटवर्क विस्तार, आपसी सद्भाव बढाउने र आन्तरिक पर्यटन सक्रिय बनाउने उद्देश्यले हरेक हप्ता यस्ता हाइकिङ कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । “सुन्दर स्थानको पहिचान तथा प्रचारमा निजी क्षेत्र अगाडि सर्नुपर्छ, जसले राज्यलाई पनि पूर्वाधार तथा लगानीतर्फ प्रेरित गर्छ,” उनले भने।

हाल रानीकोट राजधानीबाहिर छोटो बिहानै पुग्न मिल्ने हाइकिङ स्थानका रूपमा लोकप्रिय बन्दै गएको छ। ‘हाइकिङ–ध्यान’, ‘हाइकिङ–कफी’ जस्ता अनुभवका लागि युवादेखि ज्येष्ठ नागरिक, विभिन्न सरकारी तथा अन्य कार्यालयका समूहहरुको चहलपहल बढिरहेको देखिन्छ । यद्यपि स्थानीय समुदाय पूर्वाधार विकास ढिलो हुनु र प्रचार–प्रसार अभावबारे गुनासो गर्छन् । तर धेरैले रानीकोटको मौन वातावरण र हिमालको दर्शनले यात्रा थप अर्थपूर्ण बनाएको बताए ।

सञ्चारकर्मीहरूले एफएनसीसीआईको पहललाई निजी क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा अघि बढाएको सकारात्मक कदमका रूपमा व्याख्या गरे । तनाव न्यून गर्ने, मानसिक स्वास्थ्यमा सहयोगी र सामाजिक सम्बन्ध मजबुत बनाउन हाइकिङ उपयोगी हुने तथ्यसहित यस अभियानले दिगो पर्यटन प्रवर्द्धनमा योगदान गर्ने अपेक्षा व्यक्त गरिएको छ ।