मास्क लगाएर हिंड्न अमेरिकीहरूलाई ट्रम्पको आग्रह
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको महामारीको कारण देखापरेको अवस्था ’सुधार उन्मुख हुनुअघि खराब हुने’ अनुमान गरेका छन् । उनले कोरोनाभाइरस सम्बन्धी पत्रकारहरूलाई जानकारी दिने काम फेरि सुरु गरेका छन् र त्यही बेला उनले यस्तो बताएका हुन् । उनले सबै अमेरिकीहरूलाई मास्क लगाएर हिँड्न पनि भनेका छन् ।
त्यसको असर हुने भन्दै उनले ’देशप्रेम’ देखाउन पनि भनेका छन् । पत्रकार सम्मेलनका बेला उनले मास्क लगाएका थिएनन् । तर यसअघि भने उनले यस्ता व्यक्तिगत सुरक्षा सामग्रीको महत्व खासै नभएको बताउने गरेका थिए । अमेरिकाभर भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या उल्लेख्य रुपमा बढिरहँदा राष्ट्रपतिका सहयोगीहरूले उनलाई भाइरसबारे अपुष्ट कुरा नबोल्न भनेको बताइन्छ ।
अप्रिलमा दैनिक हुने ब्रिफिङकै क्रममा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको उपचार निसङ्क्रमित बनाउने खोप लगाएर गर्न सकिने बताएपछि उनको चर्को आलोचना भएको थियो । त्यसपछि मिडिया ब्रिफिङ पनि रोकिएको थियो । महिनौंपछि मङ्गलवार ह्वाइट हाउसमा भएको ब्रिफिङमा उनले धेरैजसो लेखिएकै कुरा भनेका थिए ।
उनले त्यहाँ खासगरी जनस्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको महामारीबारे भन्दै आएको कुरा नै भनेका थिए । ट्रम्पले ’दुर्भाग्यवश कोरोनाभाइरस सुधारको दिशातर्फ जानुअघि खराब हुने’ भन्दै चेतावनी दिएका हुन् । उनले भने, ‘हामी सबैलाई यही भनिरहेका छौं कि जब तपाईँ सामाजिक दूरी राख्न सक्नुहुन्न त्यतिबेला मास्क लगाउनुस्।’ ‘तपाईँलाई मास्क मन परे पनि मन नपरे पनि त्यसको असर हुन्छ र हामीले पाउन सक्ने प्रत्येक कुरा हामीलाई चाहिन्छ।’
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिका, विश्वमै कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै रहेको देश हो । अहिलेसम्म त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख नाघिसकेको छ भने १ लाख ४१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।