प्रचण्ड र माधव नेपालद्वारा ओलीको राजीनामा माग


काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका छन् ।

बिहीबार तीन शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई शीर्ष नेताले ओलीको राजीनामा माग गरेका हुन् । छलफलमा अध्यक्ष प्रचण्ड र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई सुझाव दिएका हुन् ।

तर ओलीले पनि दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् । दुवै समूहले आ–आफ्ना अडान कायम राखेपछि छलफल विना निष्कर्ष टुंगिएको थियो । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । महासचिव पौडेलले छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको बताएका छन् ।

पौडेलका अनुसार शुक्रबारको स्थायी कमिटी बैठक स्थगित नगर्ने सहमति भने छलफलमा भएको छ । प्रचण्ड र नेपाल बालुवाटार जानुअघि प्रचण्ड निवास खुमलटारमा यस समूहका सचिवालयका ६ नेताको बैठक भएको थियो ।

खुमलटारमा भएको सहमतिअनुसार प्रचण्ड र नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन ओली आग्रह गर्ने र नदिने अडान दोहोर्याए थप कदम चाल्ने जानकारी दिने सहमति भएको थियो ।