काठमाडौं । रामायणमा वर्णित अयोध्या नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र मात्र नभई देश बाहिर पनि चर्को आलोचना भएको छ ।
भारतले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई ’राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ’चोट पुर्याउने आश्चर्यजनक कदम’ भनेको छ ।
सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन् । उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही भनेर भनेको उल्लेख गरिएको छ। त्यस्तै भारतीय संचारमाध्यमले ओलीको भनाइलाई ’स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरेका छन् ।
एनडिटीभीले ओलीको अभिव्यक्तिले ’रामका अनुयायीहरूलाई उत्तेजित पार्ने देखिएको’ उल्लेख गरेको छ ।
सोमबार आयोजित एउटा कार्यक्रममा ओलीले भनेका थिए, ‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ। भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ। अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन।’
प्रधानमन्त्री ओलीले अयोध्या भारतमा रहेको भए त्यहाँका राजाका छोरा विवाहका लागि कसरी जनकपुर आइपुगे भन्ने प्रश्न समेत उठाएका छन्।
“यहाँको जनकपुर वहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कसले के गर्या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल! कताबाट थाहा होस्! थाहा हुन पनि सम्भव थिएन,“ उनले भनेका छन् ।

प्रतिक्रिया