पोखरा । अविरल वर्षापछि गएको पहिरोमा परी पोखरा महानगरपालिकामा मृतकको सङ्ख्या ६ पुगेको छ भने सात जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८, सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घर पहिरोमा पर्दा घरमा सुतेकामध्ये पाँच जनाको मृत्यु भएको छ । उनीहरूको शव सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी सुवास हमालले जानकारी दिए ।
अन्य सात जना घाइते छन् । उनीहरूको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको छ । बिहीबार थापाको घरमा जन्मदिन मनाउन जम्मा भएका उनीहरू राति सुतेको बेला घरमाथिबाट खसेको पहिरोले पुरेको थियो । त्यसैगरी, पोखरा महानगरपालिका–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया