पार्टी विभाजन गर्न नहुने भन्दै नेकपाका कार्यकर्ताहरुद्वारा पार्टी कार्यालयमा प्रदर्शन


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी, युवा र मजदुर संगठनका नेता कार्यकर्ताहरुले पार्टी विभाजन गर्न नहुने भन्दै पार्टी कार्यालय धुम्वाराहीमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

अखिल नेपाल महिला संघ, अनेरास्ववियु , राष्ट्रिय युवा संघ नेपाल, किसान संघ लगाएतका प्रतिनिधिहरुले पार्टी विभाजन गर्न नहुने भन्दै शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् । त्यस क्रममा उनीहरुले पार्टीका शीर्ष नेताहरुलाई पार्टी कार्यालयमार्फत ज्ञापनपत्र समेत बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा सोमबार ज्ञापन पत्र बुझाउन पार्टी कार्यालय पुगेका उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराउँदै ‘पार्टी एकता जिन्दावाद, एमसीसी खारेज गर, नागरिकता विधेयक पारित गर’जस्तानारासमेत लगाएका थिए ।

पार्टी विभाजन र फुट होइन, सुदृढ एकता कार्यकर्ता र जनताको चाहना भएको तथ्य स्पस्ट पार्दै ज्ञापन पत्र बुझाइएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य दिनेश थपलियाले जानकारी दिए । पार्टी र देशको आवश्यकता पनि एकता भएको र एकताको कुनै विकल्प नभएको भन्दै उहाले नेतृत्वलाई विभाजनको दिशामा नजान खबरदारी गरिएको बताए ।

ज्ञापन पत्र बुझ्दै पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले पार्टीभित्रको समस्या समाधानका लागि शीर्ष नेताहरु छलफल जुटिरहेको भन्दै नेकपा थप मजबुद भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

शीर्ष नेताबीच विवाद कायम रहेका बेला नेकपाका दोस्रो तहका नेताले समेत सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् । सहमतिका लागि नेकपाको शिर्षनेताहरुबीच पनि निरन्तर छलफल भइरहेको छ । छलफलका लागि भन्दै नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थागित गरिएको छ ।