‘ हल्काफुल्का टिप्पणीले क्यान्सरको विरामीलाई हर्नियाको शल्यक्रिया गरेर ठीक बनाउँछु भने जस्तो हुन्छ’
विष्णु रिजाल ।
पार्टीभित्र अन्तरविरोध देखा पर्दा धेरै साथीहरुले इमानदारीपूर्वक त्यसका बारेमा चिन्ता व्यक्त गरेको पाइन्छ । मेरो विचारमा पार्टीभित्र अन्तरविरोध देखा परेकोमा चिन्ता गर्नुभन्दा मुख्य कुरा अन्तरविरोधको सही हल नखोजिएको चिन्ता गर्नुपर्छ । किनभने, अन्तरविरोध त विज्ञानको नियम नै हो, द्वन्द्वात्मक भौतिकवादको मूल तत्व हो, जुन स्वतः देखा परिहाल्छ, रोकेर रोक्न सकिन्न । तर, त्यसलाई हल गर्न सकिन्छ ।
अन्तरविरोध कुनै एउटा पदार्थ वा ठाउँमा सीमित छैन, सार्वभौम छ । अन्तरविरोधको सार्वभौमिकताका बारेमा उदाहरणसहित लेनिनले आफ्नो रचना ‘द्वन्द्ववादको प्रश्नका सम्बन्धमा’ (On the Question of Dialectics) मा यसबारेमा विस्तृत व्याख्या गरेका छन्ः
गणितशास्त्रमा धनात्मक र ऋणात्मक (Differential and integral), यन्त्र विज्ञानमा क्रिया र प्रतिक्रिया (action and reaction), भौतिक विज्ञानमा धनात्मक र ऋणात्मक विद्युत्(positive and negative electricity), रसयान विज्ञानमा परमाणुको संघटन र विघटन(combination and dissociation of atoms) अनि समाज विज्ञानमा वर्ग संघर्ष (class struggle)।
पार्टीभित्र विभिन्न विचारका बीचमा निरन्तर अन्तरविरोध चलिरहने कुरालाई लेनिन र माओ दुबैले स्वाभाविक प्रक्रियाका रुपमा व्याख्या गरेका छन् । माओले आफ्नो प्रसिद्ध रचना ‘अन्तरविरोधका सम्बन्धमा’ (On Contradiction) मा भनेका छन्, ‘यदि पार्टीभित्र अन्तरविरोध हुँदैनन् र तिनलाई हल गर्नका लागि विचारधारात्मक संघर्ष चलाइँदैन भने पार्टीको जीवन समाप्त हुन्छ ।’ (If there were no contradictions in the Party and no ideological struggles to resolve them, the Party’s life would come to an end)
पार्टीका आन्तरिक अर्थात् मित्रवत् अन्तरविरोध समाधानका लागि त्यही बाटो अपनाउनुपर्ने हामीलाई हाम्रो सिद्धान्तले देखाएको छ ।
यसबाट के बुझिन्छ भने जे कारणले अन्तरविरोध प्रकट हुन्छ, त्यस कारणलाई सम्बोधन नगरी तपसीलका विषयमा हल्काफुल्का टिप्पणीले समस्या समाधान गर्दैन, झन् गहि-याउँछ । यो क्यान्सरको विरामीलाई हर्नियाको शल्यक्रिया गरेर ठीक बनाउँछु भने जस्तो हुन्छ ।