निरासा र पलायनका चाहना मानिसका रोग हुन्
डा. युवराज संग्रौला ।
सरदर १९ घण्टा काम गरिंदो रहेछ । हरेक दिन भोलि राम्रो हुन्छ भन्ने सपना हुन्छ, तर केही मानिस जो लगाम समातेर बस्छन्, उनीहरु हरेकदिन केही न केही गलत गरिरहन्छन् । भोलिको राम्रो हुने सापना तुहाइ दिन्छन्, तरपनि भोलि राम्रो हुने सपना यथावत रहन्छ ।
१. म नागरिक हुँ , जागिरे होइन । त्यसैले म स्वतन्त्र छु । मसँग मलाई माया गर्नेको चाहिएजति मानिस छन्, त्यसैले शक्तिहीन भएपनि मायबिहीन हुनुपर्दैन । देशको सिमाना मिचिन्छ, मन्त्रीज्यूहरुको फोन आउँछ, भेट हुन्छ कुरा हुन्छ । अब देश सुरक्षित छ जस्तो लाग्छ । निन्द्रा लाग्छ । फेरि बिहान टिभीमा समाचार आउँछ, मन्त्रीज्यूले चन्द्रमा जाने रकेट बनाउन झाँक्रीलाई नियुक्त गर्नु भयो । फेरि निरासा हुन्छ, तर फेरि भोलि राम्रो सपना देखेर आजको दिन बित्छ । हरेक दिन यसरी नै बित्छ । निरासा र पलायनका चाहना मानिसका रोग हुन् ।
२. मानिस मलाई र म जस्तालाई सधैं पछाडि घकेलिरहन्छन् । विदेशी मानिसका जूम्रा हेर्नेहरुसँग नेताको बैठक बसि रहन्छ । देश लुट्नेहरु अनेक रङ्ग फेर्छन् । उनीहरुलाई के थाहा छैन भने उनको कर्तुत एक दिन इतिहासमा लेखिने छ । उनका नाति नातिनातिनीले हजुरबुबाको नाम लिने बित्तिकै वाकवाकी गर्ने छ ।
३. धेरै मित्रहरुले के थाहा पाएनन् भने, उनीहरुको खप्पर भित्र गिदी छ, गोबर होइन । तर गिदी नै गोबर भएपछि के लाग्छ र ? पल्ला गाउँको नरे मन्त्री भएपछि अंग्रेजी बोल्ने भएछ। उसलाई विकासको भाषण गर्न बोलाएछन् । अंग्रेजीमा भाषण गर्न सकेनछ । अंग्रेजी बिर्से भन्ने लागेछ । उसलाई के था विचारा गिदीमा ज्ञान पस्नु पर्छ भनेर ।
४. मेरा टोलका कुकुरहरु हरेक दिन एउटै बाटो दौडी रहन्छन् । उनीहरु मध्य कसैलाई कुनै दिन कसैले बाटोको इन्जिनियरमा नियुक्ति दिने छ ।