लद्दाख भिडन्तपछि सिक्ला त भारतले छिमेकीसँग गर्नुपर्ने व्यवहार ?
छिमेकीसँग सधै शत्रुवत व्यवहार देखाउँदै आएको भारतीय सेनाले लद्दाखको विकट गलवान उपत्यकामा भने चिनियाँ जनसेनासँग अपूरणीय क्षतीसहित हार खानु परेको छ । भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सोमवार भएको सङ्घर्षमा एक उच्च सैन्य अधिकारीसहित २० भारतीय सुरक्षाकर्मी मारिएका भारतीय सेना र सरकारले पुष्टि गरेका छन्।
दुवै पक्षका वरिष्ठ सैन्य अधिकारीहरूले स्थिति सामान्य बनाउन वार्ता पनि गरिरहेको बेला यो हिंसात्मक झडप भएको छ । र, दुवैतर्फ सैनिकको मृत्यु भएको भारतीय सेनाले दाबी गरे पनि २० भारतीय सेना मारिएको हालसम्म पुष्टि भएको छ। बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि नगरेका कारण पनि भारतीय सेनामाथि चिनियाँ सेना पूर्ण दबाब र नियन्त्रण कायम गरेर अघि बढ्न सफल भएको बुझ्न सकिन्छ ।
२०१७ मा दोक्लममा चिनियाँ सेनाको नराम्रो धक्का खाएको भारतीय सेनालाइ यो पट्कको निहुँ खोजाइ भने निकै महंगो परेको छ । उक्त क्षेत्रमा चीनले भारतलाई तनाव बढ्ने गरी एकपक्षीय रूपमा कुनै काम नगर्न र भारतीय सेनालाई संयम रहन बारम्वार आह्वान गरिरहदा पनि भारतीय सेनाले निरन्तर गरेको अटेरीकै परिणामस्वरूप भारतीय उच्च सैन्य अधिकृत सहित थप दुइ सेनाको अनाहकमा ज्यान गएको छ । चीनले भारतलाई सीमा नाघेर चिनियाँ सैनिकमाथि हमला नगर्न तथा सीमा क्षेत्रमा अनावश्यक गस्ती र प्रभाव नजमाउन निरन्तर सचेत गराइरहेको थियो । बिगत करीब दुई महिनादेखि चिनियाँ सेनालाई अनावश्यक तनाव दिदै आएको भारतीय सेनाले अन्ततः उल्टै अपुरणीय क्षती व्यहोर्नु परेको छ । यस अघि सीमावर्ती सिक्किममा पनि गत मे पहिलो साता भारतीय र चिनियाँ सेनाबीच हात हालाहालको स्थिति हुँदा भारतीय सेना पछि हट्न वाध्य हुनु परेको थियो । गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा भएको हात हालाहालको दृश्य सामाजिक संजालमा निकै भाइरल भएको थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार, भारतीय सैनिकले सीमा नाघेर ’चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको’ तथ्य सार्वजनिक भएको छ । यसले भारतीय सैनिकहरू उक्त सीमा क्षेत्रमा अनावश्यक झन्झट र तनाव सृजना गर्न उद्धत रहेको स्पष्ट पारेको छ । भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको भारतले दाबी गरे पनि पहिले उनीहरूले व्यवसायिक हिसावमा निकै संयिमत र अनुशासीत मानिएको चिनियाँ सेनालाई जिस्क्याउने र उक्साउने गलत गतिविधिहरू गरेको अनुमान गरिएको छ । भारत चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएपछि अब भारत रक्षात्मक स्थितिमा धकेलिन पुगेको छ, जुन उक्त सीमा क्षेत्रको शान्तिका लागि सुखद सुरूवात हुनेछ ।
केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको दाबी उसको यो पछिल्लो क्षतीले गलत साबित भएको छ । भारतकै कारण भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको बेला धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएकाले अब भारत थप निहुँ खोज्न अग्रसर हुन नसक्ने संभावना बढेको छ । स्मरणीय छ, भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो। चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप निराधार र तथ्यहिन देखिदै आएको छ। सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि भारतीय पक्षकै एकाँकी रवैयाका कारण वार्ताबाट कुनै समाधान हात परेका छैनन्।
सोमबारको लडाइँ बिना हतियारको हुनु र कुनै हतियार र सैन्य सामानको फायरिङ नगरिएको स्थितिले त झन् चिनियाँ सेना थप शसक्त रहेको प्रमाणित गरेको छ । हात हँुदा हुदै किन हतियारलाइ दुख भने झै चिनियाँ सेनाले बाहुबलकै भरमा भारतीय सेनालाइ तह लगाइदिएका छन् । मुखले वार्ता वार्ता जप्ने, भन्ने तर काम र व्यवहारले सधै हेप्ने, निहुँ खोज्ने तथा तनावको वातावरण जारी राख्न चाहने भारतीय सेनाको गलत प्रवृत्तिमा अब यसले व्रेक लगाउन मद्धत गर्ने विश्वास गरिएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार भारतीय सेनाले स्थिति बिगारेर चिनियाँ सैनिकमाथि “अवैधानिक रुपमा सीमा पार” गरिसकेपछि “उत्तेजक आक्रमण” गरेको हो । त्यसो त पछिल्ला दिनहरूमा “चीन र भारतीय पक्षले सीमा अवस्था सुधार्न र सीमा क्षेत्रमा शान्ति र शान्ति कायम गर्नका लागि द्विपक्षीय मुद्दाहरूको वार्तालापबाट समाधान गर्न सहमती गरेका छन,“ यो अझै जारी छ।
यसरी विश्व नै कोभिड १९ महामारीसंग लडिरहेको र भारत त झन भयावह संक्रमणातिर फस्दै गएको बेला भारतले नेपाल र चिन लगायतका छिमेकी देशहरूसंग सीमामा अकारण निहुँ खोजेर अफ्नै खुट्टामा बन्चरो हान्ने मुखर्ता पुनः देखाएको छ । लद्दाखमा भारतलाई चिनियाँ सेनाको यो नयाँ र अर्को चोटले उसलाइ छिमेकीसंग शान्ति र मेलमिलापका साथ बस्न प्रेरित गर्न सके भारतकै हित हुने थियो । के अब भारतले पाठ सिक्ला त ?