प्रधानमन्त्रीज्यू, सुन्नेलाई त यो सामान्य लाग्ला तर भोग्नेको पीड़ा कस्तो होला ?
नारायण गाउँले ।
अर्घाखाँचीको मालारानीस्थित एउटा क्वारेन्टीनमा १४ दिन बिताएका व्यक्तिको स्वास्थ्य स्थिति गम्भीर हुँदै गएपछि उनको स्वाब सङ्कलन भयो र उनलाई बल्लबल्ल सदरमुकामको जिल्ला अस्पताल लगियो । त्यहाँ ज्वरोले शिथिल उनको उपचार कसले गरोस् ? उनलाई बुटबल प्रादेशिक अस्पताल रिफर गरियो ।
अस्पतालले ‘सामान्य उपचार’ गर्यो । सामान्य भनेको तपाईंले बुझ्नुभो होला । ज्वरो बसेको र अवस्था सामान्य भएकाले घरमैं आराम गर्न भनेर घर पठाइदियो । घर फर्किँदै गर्दा केही मिनेटपछि उनको बाटोमैं मृत्यु भयो । हाम्रो देशमा धेरैले अस्पतालको मुख देख्नसम्म नपाएर ज्यान गुमाउँछन्, धन्न उनले मुखसम्म देख्न भ्याए । अलिकति पहुँच भएको भए शायद उपचार पनि पाउँदा हुन् ।
अहिले उनको शव गाउँको खुला ‘पाटी’मा बेवारिसे छ । केही दिनअघि सङ्कलन भएको स्वाब हराएकाले कोरोनाभाइरस भए नभएको पुष्टि हुन नसकेर सद्गत गर्न दिइएको छैन ।
जमिनमा यस्तो घटना घट्दै गर्दा संसदमा भने हाम्रो रोगप्रतिरोधक क्षमताबारे बहस चल्दै थियो । बेसार, अदुवा र लसुन औषधि हुन् कि होइनन् भन्ने विज्ञता प्रस्तुत हुँदै थियो । प्रधानमन्त्रीको जबाफमा कार्पेटबारे सफाइ त थियो, तर क्वारेन्टीनको नाममा चिसो छिँडीमा हप्तौं बिताउँदा बिताउँदै गलेर मृत्यु हुनेहरूको कुनै चर्चा थिएन । हिमाली पानीको औषधीय गुणबारे कविता कोरिए पनि बर्दियामा पानी र सिटामलसम्म नपाएर मृत्यु भएका जोधी प्रसादहरू प्रति कुनै सहानुभूति थिएन ।
हाम्रा क्वारेन्टीनमा न पौष्टिक खाना छ न सामान्य प्राथमिक उपचारको सुविधा । न आइसोलेशनको व्यवस्था छ, न स्वास्थ्यकर्मी । क्वारेन्टीनमा रातभरि रगत छाद्दै छटपटिएर पनि स्वास्थ्यकर्मी र एम्बुलेन्स नपाएर भोलिपल्ट खुला चहुरमैं मृत्यु भएको घटना हाम्रो सभ्यतामाथि ठूलो झापड़ थियो ।
हामी सभ्य र नागरिकप्रति साँचो रूपमा उत्तरदायी बन्न सकेको दिन यस्ता मृत्युहरू स्वाभाविक मृत्यु नभएर हत्या हुन् र हामी हत्यारा हौं भन्ने बुझ्ने छौं ।