दैलेखका थप १४ जनामा कोरोना भाइरसको संक्रमण
सुर्खेत । दैलेखको नारायण नगरपालिकामा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिएका छन् ।
उनका अनुसार १७ देखि ५० बर्ष उमेर समुहका मानिसहरुलाई कोराना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका उनीहरु सबै भारतबाट आएका हुन् । सुर्खेतबाट पठाइएका १ हजार ४० जनाको स्वाब परीक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजेटिभ देखिएको थियो । दैलेख नारायण नगरपालिका २,३,४,६,८,९ र १० नम्बर वडाका स्थानीयमा कोरोना पोजेटिभ देखिएको हो । दैलेख नारायण नगरपालिकामा यसअघि ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
शुक्रबार १४ जना थपिएसंगै दैलेखमा संक्रमितको संख्या ३० पुगेको छ । भारतबाट आउने नागरिकका कारण कर्णालीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोना संक्रमित हुनेको संख्या ६० जना पुगेको छ । जस अनुसार सुर्खेतमा २८ जना, दैलेखमा ३० जना, मुगुका १ जना, सुर्खेतममा परीक्षण गरिएका बझाङका १ जना गरि संक्रमिको संख्या ६० पुगेको हो ।
यसैबीच, दैलेखको क्वारेन्टाइनमा बसेका एक युवकको शनिबार बिहान मृत्यु भएको छ । दुल्लु नगरपालिका–७ मा रहेको विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।
बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा एक्कासी बेहोस भएका थापाको केहीबेरमा मृत्यु भएको बताइएको छ । उनी १२ दिनअघि भारतबाट आएका थिए । क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा दुई दिनअघि पठाइसकेको छ ।