थप २५ मा कोरोना संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो
काठमाडौं । बुधबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ७ जना महिला र १८ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप २५ जना कोरोना संक्रमित थपिएको बताए । संक्रमित कपिलवस्तुका १३, बाँके ६, धनकुटा ५ र नवलपरासीमा १ जनामा देखिएको उनले जानकारी दिए । उनले अहिलेसम्म पिसिआर विधिबाट ३५ हजार ४९४, र्यापिड जाँच ७३ हजार ७२ जनाको गरिएको जानकारी दिए ।
त्यस्तै २३ हजार २०२ जनालाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता देवकोटाले बताए । नेपालका ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनले सःशुल्क रुपमा कोरोना जाँच गर्ने व्यवस्था अन्य अस्पतालबाट सुरु गर्न लागेपनि शुल्क भने अहिले नै नतोकिएको बताए ।
मन्त्रालयले कोरोना भाइरसको संक्रमित गुल्मीका ४१ वर्षीय शिक्षकको अवस्था गम्भीर रहेको जनाएको छ । ५ जेठमा जन्डिस भई अस्पताल भर्ना भएका गुल्मीका शिक्षकको मणिपाल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।