के चीनको सहमति बेगर भारतले मानसरोवर छुने बाटो बनायो होला त ?
जेपी गुप्ता ।
के चीनको सहमति बेगर भारतले मानसरोवर छुने बाटो बनायो होला त ? पुल नभएर खोलामैं अलपत्र परिने बाटो हो र यो ? अथवा, अयोध्या वा काशीका डुलुवा पण्डित पण्डाहरूलाई कैलाश मानसरोवरको दर्शन गराउने यो मोदीको धार्मिक एजेण्डा हो ?
नेपालका गृहमन्त्रीले बोले यस बिषयमा चीनसंग कुरा गर्नुपर्छ । हिजो मात्र चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले बेइजिङमा भनेका छन्,“कालापानी नेपाल र भारतको इस्यु हो । दुई देशले मैत्रीपूर्ण संवादबाट आपसी मतभेद समाधान गर्नेछन् । एकपक्षीय रूपमा कुनै पक्षले कदम चाल्दा परिस्थिति थप जटिल हुनेछ।” यो नेपालले पनि बुझ्नु पर्ने कुटनीति हो ।
माओवादी हत्या हिंसा उत्कर्षमा रहेको बेला भारत,चीन,अमेरिका र बेलायतको धेरै संयुक्त बैठकहरू दिल्लीमा हुने गरेको, मोरियार्टी बरोबर त्यता जाने गरेको आदि कुराहरू सम्झनायोग्य छन् । त्यसबेला नेपाली अखबारको धेरै शीर्षक बन्ने गथ्र्यो यस बिषयमा । नेपालका बारेमा यी मुलुकहरूको कन्सोर्टीयम सदैब सकृय रहेकै छ, उनीहरूका बीच कतिपय द्विपक्षीय विवाद बाहेक पनि ।
स्थलमार्गबाट चीनको भारतीय बजारमा प्रवेश कराकोरमबाट सम्भव छैन । नाथुलामा भारत सहमत छैन, त्यस निम्ति नर्थइष्ट बारे चिनियाँ सोचनै बाधक छ । रसुवा काठमाण्डू भारत चाहँदैन । लिपुलेक हँुदैको अहिलेको विवादित बाटो नै बिकल्प हुनसक्छ ।बेल्ट रोडलाई बिर्सनु हुन्न । यसमा चीनका लागि नेपालको भन्दा भारतको बढी महत्व छ । हामी “ग्रेटवाल अयोध्या” ट्रयापमा त परेकै हो । पारिएको पनि होला ।
बिर्सनु हुन्न कि भारत, चीन, नेपाल बीचको त्रिपक्षीय सहकार्यमा भारत चीनको सहमति पछि मात्र नेपालको सरोकार हेरिन्छ यो तथ्ययुक्त सत्य हो । भलै हाम्रो भावनात्मक लगाव जता, जोसंग होस्।
हिजोका राजा र आजको संसदीय भनौं वा आश्रित गणतन्त्र, रिङ भित्रका बस्तु मात्र हुन् । “बीर नेपाली शीर उचाली” त हाम्रा कुरो पो हो त ! यसमा हामीले गर्व गर्नैपर्छ। उनीहरूले यसको हिन्दी र मन्डारीन अनुवाद गरेका छैनन् ।