पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ जनाको नमूना परीक्षण


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण देखिएका सबैको उपचार सुरु गरिएको जनाएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मंगलबार कोरोना देखिएका ७ जनाको उपचार सुरु गरिएको जानकारी दिएका हुन् ।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ जनाको नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म पिसिआर र आरडिटीबाट ६६ हजार ७७ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार ८ सय ५० जनाको पिसिआर र ५२ हजार २ सय २७ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश २ मा ५ हजार ७ सय ७८, बागमतिमा ८ हजार ९ सय ४०, गण्डकीमा ६ हजार ७५, प्रदेश ५ मा ५ हजार १ सय ९३, कर्णालीमा ५ हजार ८ सय ७६ र कर्णाली प्रदेशमा १४ हजार २ सय ४४ जनाको आरडिटिबाट परीक्षण भएको छ ।

प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमितको उपचार जारी रहेको उनले बताए । कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र २ र बाहिर १ सय १८ गरी कुल १ सय २० जना अस्पतालको आइसोलेसनमा छन् । मुलुकभर अहिले २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।