कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउन नेपालगंज तीन दिन पूर्ण निषेधित क्षेत्र घोषणा
नेपालगंज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगंज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागू हुने गरी नेपालगंज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बिहीबार मध्यरातिसम्मका लागि यो निर्णय लागू गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन् । मंगलबार बिहान ११ बजेदेखि औषधि पसलबाहेकका सम्पूर्ण पसल ब्यबसाय बन्द रहनेछन् । तीन दिनपछि अवस्था हेरेर फेरि निर्णय गरिने उनले बताए । उनले संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको जानकारी दिए ।