के कार्यकर्ता हुने बित्तिकै विवेकको आँखा चिम्लिनै पर्छ र ?
नारायण गाउँले ।
सरकार चाहिँ यस्तो बेला सांसद किन्ने, मन्त्री पदलाई खरिदबिक्रीको साधन बनाएर अर्को पार्टी फुटाउन षड्यन्त्र गर्ने, राजनैतिक स्थायित्वका लागि बनाइएका कानुन तुच्छ स्वार्थका लागि फेर्ने, पार्टीभित्र ग्रुपिज्म र फ़ट्याइँको खेल शुरु गर्ने, पार्टीभित्रै सल्लाह र सहमति बिनै एकलौटी उटपट्याङ् निर्णय गर्ने, लकडाउनमा फसेका नागरिकलाई थानकोटसम्म आइपुग्दा समेत रातभर चिसो कटेरोमा राखेर फिर्ता पठाउने तर आफ्ना प्यादालाई मान्छे उठाउन खुलम्खुल्ला जहाँसुकै पठाउने जस्तो खेलमा आफै व्यस्त छ ।
पुलिसले जाहेरी लिनुअघि राजनैतिक आस्था हेर्ने अचम्मको संस्कार विकास गरिएको छ । सर्वोच्चले दिएका निर्देशन समेत कसैले टेरेको छैन । पार्टी फोड्ने खेल एक दिनको होइन, महिनौंदेखिको षड्यन्त्र हो र अबको केही हप्ता या कार्यकालभरि नै रहिरहने प्राथमिक खेल यही हो । बालुवाटारमा कुनचाहिँ सचिबालयको बैठक देशको आर्थिक अवस्था या वैदेशिक रोजगारमा रहेकाको कल्याणका मुद्दामा बसेको छ ? कुन बैठक देशको सीमासम्म आएर अलपत्र परेका नागरिकको उद्धारका लागि बसेको छ ? आजसम्म बसेका बैठकको एजेन्डा ‘पार्टीभित्रको असन्तोषबाट शुरु भएर भागबण्डा, नियुक्ति र अबदेखि मिलेर जाने’ भन्ने रहने गरेको छ ।
पार्टीको झगड़ा पनि भागबण्डा र लेनदेनको मात्रै हो । घरघरमा ग्यास किन आएन, टिकट काट्ने मिति नै तोकेको पानी जहाज कता रोकियो, चीनबाट हिँडि नै सक्यो भनेको चुच्चे रेल किन अलमलियो या स्याटेलाइटबाट बिजुली बेच्ने प्लान के भयो भनेर कहिल्यै पार्टीको बैठक बसेको छ ? के कहिल्यै संविधान या कानुन फेर्ने बेला कुनै निमुखा या सर्वहारा नागरिकको सुविधाको कुरा आउँछ ? कुनै अमुक पराजितहरूलाई प्रधानमन्त्री कसरी बनाउने या अर्को पार्टीलाई कसरी टुक्ऱ्याउने भनेर संविधान संशोधन गर्ने बहस र कोसिसमा राज्यको कति समय खर्च भयो ?
दलदासजीहरू चाहिँ यो सबैको दोष बाबुराम, विपक्ष या फेसबुकमा लेख्नेलाई दिएर आफ्ना नेताको पूजा गर्ने मनःस्थितिमैं देखिनुहुन्छ । यो सबै प्रवृत्ति भष्मासुर प्रवृत्ति होइन ? के दासबाट प्रेमीको तहसम्म उक्लेर ‘यस्तो बेला सिङ्गो सरकारको बहस र प्राथमिकता किन त्यस्तो विखण्डनतिर’ भनेर सोध्न सकिन्न ? के कार्यकर्ता हुने बित्तिकै विवेकको आँखा चिम्लिनै पर्छ र ?