कोरोनाभाइरसका कारण विश्वभर नक्कली औषधिको व्यापारमा ह्वात्तै वृद्धि



विश्वभरि नै मानिसहरूले अत्यावश्यकीय औषधिहरू थुपारेर राखिरहेका छन्। यद्यपि, विश्वका दुई ठूला औषधि आपूर्ति गर्ने देश चीन र भारत लकडाउनमा गएपछि, आपूर्ति भन्दा माग बढेको छ र खतरनाक खालका नक्कली औषधिहरूको व्यापार बढिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेकै साता औषधिसम्बन्धी अपराधविरुद्ध काम गर्ने इन्टरपोलको विश्वव्यापी इकाइ अपरेसन पान्जियाले जम्मा सात दिनमा ९० वटा देशभरीबाट १२१ जनालाई पक्राउ गरेको थियो।

त्यसक्रममा १ करोड १४ लाख डलर बराबरका घातक खालका औषधी जफत भएको थियो। प्रहरी अधिकारीहरूले मलेशियादेखि मोजाम्बिकसम्म दशौँ हजार नक्कली मास्क र औषधि जफत गरेका थिए। ती मध्ये धेरै औषधिले कोरोनाभाइरस ‘निको पार्न’ सक्ने दाबी समेत गरेका थिए।

“स्वास्थ्य सङ्कटका बेला औषधिजन्य नक्कली सामग्रीको अवैध व्यापारले मानिसको जीवन पूर्ण रुपमा अवमूल्यन गरेको देखिन्छ,” इन्टरपोलका महासचिव युर्गन स्टकले भने।

विश्वस्वास्थ्य सङ्गठनका अनुसार ३० अर्ब डलर बराबरका नक्कली वा म्याद नाघिसकेका औषधिको व्यापार न्यून र मध्यम आय भएका देशहरूमा हुने गर्छ।

त्यसरी व्यापार हुने औषधिले शरीरमा नराम्रो असर गर्न सक्छ अथवा ती औषधिमा या त आवश्यक तत्त्व हुँदैन वा खराब तत्त्व हुन्छ।

“धेरैजसो अवस्थामा त्यस्ता (नक्कली औषधि) ले जे रोग निको पार्नु पर्ने हो त्यो पार्दैन”, नक्कली औषधिबारे काम गर्ने विश्व स्वास्थ्य सङ्गठनको टोलीमा रहेकी पर्नेट बुडिलियन इस्टिभले भनिन्।

“तर केही खराब अवस्थामा भने ती औषधिले नराम्ररी असर गर्छ, किनभने ती औषधिमा केही विषाक्त सामग्री हुनसक्छ।”

विश्वव्यापी औषधी उद्योग १० खर्ब डलरभन्दा बढीको छ र यसको आपूर्ति गर्ने सञ्जाल व्यापक ठूलो छ।

चीन र भारत जस्ता देश प्रमुख औषधी उत्पादक हुन् भने युरोप, दक्षिण अमेरिका वा एसियामा रहेका गोदामहरूमा त्यसलाई प्याकेज गरिन्छ र विश्वभरका सबै देशहरूमा वितरकले औषधी पठाउँछन्।

इस्टिभ भन्छिन्, “औषधि जति विश्वव्यापी सायद अरु केही भएको छैन।” यद्यपि, विश्वका धेरै मुलुक लकडाउनमा गएसँगै, आपूर्ति गर्ने सञ्जालमा गडबडी आउन थालिसकेको छ।

भारतमा रहेका थुप्रै औषधि उत्पादक कम्पनीहरूले आफ्नो क्षमताभन्दा ५०-६० प्रतिशत कम काम गरिरहेको बताएका छन्।

भारतीय कम्पनीहरूले २० प्रतिशत अत्यावश्यकीय औषधिहरू अफ्रिका महादेशमा पठाउने भएकोले अफ्रिकी मुलुकहरू नराम्ररी प्रभावित हुनेछन्। जाम्बियाको लुसाकाका एक औषधि विक्रेता इफ्राइम पिरीले आफूले तनाव महसुस गर्न थालिसकेको बताए।

“औषधिहरू सकिन थालिसके र हामी त्यसको पुन:पूर्ति गरिरहेका छैनौँ। हामीले गर्नसक्ने केही छैन। खासगरी एन्टिबायोटिक र औलोका अत्यावश्यकीय औषधीहरू पाउन मुस्किल छ।

औषधि बनाउन आवश्यक पर्ने कच्चा सामग्री पनि अहिले निकै महङ्गो भएकोले उत्पादक र आपूर्तिकर्ता त्यसका लागि कठिनाइ भोगिरहेका छन्। केही कम्पनीहरू त यस्तै अवस्थामा सञ्चालन भइरहन सक्दैनन्।

औलोको औषधिका लागि चाहिने हाइड्रोक्लोरोक्वीन नामक कच्चा सामग्रीहरू यसअघि आफूले प्रति किलो करिब १ सय डलरमा किन्ने गरेको पाकिस्तानका एक उत्पादकले बताए। तर अहिले, उक्त सामग्रीको मुल्य बढेर प्रति किलो ११ सय ५० डलर पुगेको छ।

धेरै सङ्ख्यामा देशहरू लकडाउनमा गइरहँदा, उत्पादनमा कमी आउनुमात्रै समस्या होइन। यस्तो अवस्थामा मानिसहरूले आत्तिएर आवश्यक पर्नसक्ने औषधी थुपारेर ह्वात्तै माग बढ्नु पनि समस्या हो।

घट्दो आपूर्ति र बढ्दो मागको यस्तो अमिल्दो अवस्थाले गर्दा नै नक्कली औषधिको बिक्री हुने र उत्पादनमा खतरनाक वृद्धि हुने भन्दै विश्वस्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ।

“जब माग अनुसार आपूर्ति हुँदैन”, इस्टिभ भन्छिन्, “नक्कली वा कम गुणस्तरका ‍‍‌औषधीहरूले नै माग पूरा गर्न खोज्ने वातावरण बन्छ।”

नक्कली औषधि

विश्वभरका औषधि उत्पादक कम्पनीहरूसँग कुरा गर्दा उनीहरू औलोको औषधीको विश्वव्यापी आपूर्ति अहिले सङ्कटमा रहेको बताउँछन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका ब्रिफिङहरूमा क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनको सम्भावनाबारे बताउन थालेपछि यी औषधिहरूको माग विश्वव्यापी रुपमा बढ्न थालेको छ। यी औषधिहरू सामान्यतः औलो निको पार्नका लागि प्रयोग हुन्छन्।

क्लोरोक्वीन वा हाइड्रोक्सीक्लोरोक्वीनले कोभिड-१९ गराउने भाइरसविरुद्ध निश्चित रुपमा काम गर्छ भन्ने कुनै प्रमाण नभएको कुरा विश्वस्वास्थ्य सङ्गठनले पटक पटक दोहोर्‍याएको छ।

यद्यपि, हालैको प्रेस सम्मेलनमा औलोका यी औषधिबारे बोल्दै ट्रम्पले भने: “तपाईँले के गुमाउनुपर्छ र? खानुस्।”

माग ह्वात्तै बढेसँगै, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र क्यामरुनमा नक्कली क्लोरोक्वीनको ठूलो परिमाणमा बिक्री भइरहेको बीबीसीले पत्ता लगाएको छ।

सामन्यत: क्लोरोक्वीनका १ हजार ट्याब्लेटको बट्टाको करिब ४० अमेरिकी डलर पर्छ तर प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्थानीय औषधि विक्रेताहरूले त्यसलाई २ सय ५० डलरसम्ममा बिक्री गरिरहेको पाइएको थियो।

त्यसरी बिक्री भएको औषधि बेल्जियममस्थित ‘ब्राउन एण्ड बुर्क फार्मास्युटिकल लिमिटेड’ मा उत्पादन भएको बताइएको थियो।

यद्यपि, ‘ब्राउन एण्ड ब्रुक’ लाई सम्पर्क गर्दा यूकेमा दर्ता भएको उक्त ‍‍औषधि उत्पादक कम्पनीले “हामीलाई यसबारे केही थाहा छैन। हामी यो औषधी बनाउँदैनौँ यो नक्कली हो” भनि प्रतिक्रिया दिएको छ।

अक्स्फर्ड विश्वविद्यालयका नक्कली औषधीसम्बन्धी विज्ञ प्राध्यापक पल न्यूटन कोरोनाभाइरसको विश्वव्यापी महामारी जारी रहँदा विश्वभरका सरकारहरूले एउटा एकीकृत मोर्चा नबनाउँदासम्म नक्कली र घातक औषधिको विक्रीवितरण केवल वृद्धि मात्रै हुने भन्दै सचेत गराउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप ३०३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

कोभिड खोप पूरा विश्वभरि कहिलेसम्म पुग्ला ?

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले खोपले महामारीको ज्वारभाटालाई मोड्न ठूलो आशा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमनका लागि चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा

खलंगा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका