कोरोनाका कारण अमेरिकामा ११ हजारको मृत्यु, न्यूयोर्क सबैभन्दा बढी प्रभावित
कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघेको छ । सबैभन्दा धेरै इटालीमा १६ हजार भन्दा बढीको मृत्यु भएको छ भने स्पेनमा १३ हजार भन्दा धेरै मानिसकोम मृत्यु भएको छ । विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या १३ लाख ४६ हजार २ सय ९९ पुगेको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अमेरिकामा ११ हजार नजिक पुगेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार मंगलबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ । संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेको छ । अमेरिकाको न्युयोर्क कोरोनाका कारण सबैभन्दा प्रभावित बनेको छ ।
न्युयोर्कमा तीन हजार पाँच सयको ज्यान गएको छ । विश्वभर पछिल्लो २४ घण्टामा ७२ हजार भन्दा धेरै कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा ३० हजार ३३१ कोरोनाका नयाँ संक्रमित भेटिएका हुन् भने स्पेनमा ५ हजार २९, इटलीमा ३ हजार ५९९ जना नयाँ संक्रमित पछिल्लो २४ घण्टामा भेटिएका छन् । बेलायतमा ३ हजार ८०२, टर्कीमा ३ हजार १४८, इरानमा २ हजार २७४ फ्रान्समा ५ हजार १७१ संक्रमित २४ घण्टामा भेटिएका छन् ।