हाम्रो दिमागले सकारात्मक सोच्दैन, यहाँ छ हाम्रो समस्या
डा. युवराज संग्रौला ।
हाम्रो गरिबी श्रोत र साधनको होइन । प्रकृतिले नेपाललाई हरेक बस्तु दिएको छ । हाम्रो गरिबी हाम्रो सोचाइको तन्तुमा देख्छु ।
१. दुबईको ट्वाइलेट भित्र थिएँ । बाहिर हात धुने ठाउँमा मस्र्याङ्दी सललको गीत कसैले गायो । कोही यात्री होला भन्नेठानें । बाहिर आएर नेपाली हो भाइ भनेर सोधें । हो भने उनले । तर उनका अनुहारमा बादल छायो । उनी बोल्न चाहेनन् । लबिमा बसेको थिएँ । उनी सफा गर्दै त्यहाँ आए । माथी रेस्टुरेन्टमा जानुहोस् न बोर्डिङ कार्ड देखाएर सित्तैमा कफी खान पाइन्छ । उनलाई मेरो सामुन्ने काम गर्न लाज भएको थियो । हाम्रो समस्या यो हो । हामीसँग ज्ञान र सिप छैन तर ठूलो मानिस हो भन्ने घमण्ड छ । हामीलाई देशमा काम गर्न लाज लाग्छ । बारी बाँझा छन् तर अवसर छैन विदेशीनेको ताँती छ ।
२. को को मध्यम परिवारको छ हात उठाउनु होस् । मैले विद्यार्थीलाई भने । सबैले हात उठाए । हामी महिनामा तलब थापेर जीवनयापन गर्नेहरु हौँ । एक महिना कमाइ भएन भने, हाम्रो जीवन संकटमा पर्छ । तर हामीलाई आफू मध्यम परिवार भन्ने भ्रम छ । हामी कामदार हौं । हामी श्रम बेचेर जीवनयापन गर्छौं । तर हामीमा “अनेक उपभोक्तावादी आडम्बर छन् ।“ यो हो हाम्रो समस्या ।
३. हामी राम्रो कतै देख्दैनौं । सबैतिर राजनीति छ । मानिस बचाउन सरकार सामान ल्याउँदैछ । तर गलत सूचना दिएर हामी लकडाउनका बेला आन्दोलनको तयारी गर्दैछौ, कोही मानिस । हाम्रो दिमागले सकारात्मक सोच्दैन । यहाँ छ हाम्रो समस्या ।
हाम्रो समस्या हाम्रो सोचाइको पद्धतिमा छ । हामी रचनात्मक होइन बिग्रहको बारेमा सोच्छौं । अहिले हामी आफ्नै जीवन जोगाउन लकडाउनमा बस्नु राम्रो हो । गफ नगरेर, किताब पढे हुन्छ । बारी खनेर बिरुवा लगाए हुन्छ । घर सफा गरे हुन्छ ।