साम्राज्य उदाउँछन् र ती फेरि अस्ताउँछन्
जीवा लामिछाने ।
उत्कर्षका दिनमा ख्मेर साम्राज्य इन्डो चाइनादेखि बंगालको खाड़ी र चिनको यूनान प्रान्तसम्म फैलिएको रहेछ । ख्मेर वंशमा एक से एक प्रतापी राजाहरुले झण्डै ६ सय बर्ष शासन गरेका रहेछन्। ती मध्ये सूर्य बर्मन द्वितीय र जय बर्मन सप्तमले स्याम रिप झेत्रमा आंककोर वाट, आंगोर थोम, बेइन आदि पुरातात्विक महत्वका अति महत्वपूर्ण सम्पदाहरु निर्माण गराएका रहेछन । त्यसमध्ये आंगोरबाट मन्दिर परिसरलाई संसारकै सबैभन्दा ठूलो मन्दिर मानिन्छ ।
यो बंशका राजाहरु भगवान विष्णु र शिवका उपाशक थिए । खण्डहर मन्दिरका भित्ताहरुमा रामायण, महाभारत, पुराण आदिमा वर्णित अनेक क़िस्साहरुलाई स्टोन कार्भिंगबाट चित्रण गरिएको छ ।
अन्न उत्पादन, उद्योगधन्दा बिस्तार र बिशाल क्षेत्रफलका कारण त्यति बेला निक्कै उन्नति भएको साम्राज्य रहेछ यो ।
यो त भयो इतिहासको कुरा:
समय क्रममा शक्तिशाली ख्मेर साम्राज्य बिलाएर गयो ।
चार सय बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आंककोर पुरातात्विक पार्क एरियामा अहिले मन्दिर र दरबारहरुका भग्नावशेष मात्रै बाक़ी छन् । साम्राज्यहरु जसरी उदाए त्यसैगरी बिलाउंदै गएको ईतिहास छ । शक्तिशाली मुग़ल साम्राज्य, अटोमन ईम्पाएर, रोमन ईम्पाएर आदिको अहिले नामो निसान छैन । कुनै समय सूर्यास्त नहुने बेलायती साम्राज्य खुम्चिएर अहिले युरोपको एक मझौला खालको टापुमा सीमित हुन पुगेको छ । आफ्नै आंखा अगाडी सोभियत साम्राज्यको पतन भएको देखियो ।
शक्तिशाली ख्मेर साम्राज्यको राजधानी आंककोर पार्क क्षेत्र अवलोकन गर्दै गर्दा म सोचिरहेको छु, संसार परिवर्तनशील त छ नै, यो क्षयशिल पनि रहेछ ।