के निर्णय गर्ला नेकपा सचिवालय बैठकले ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
बैठकमा १४ मंसिरको उपनिर्वाचन, भारतसँग सीमा विवाद र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइरहेको बताइएको छ ।
बैठकमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा पनि छलफल हुने बताइएको छ । कालापानी र लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक भएपछि सरकारले त्यसको विरोध गर्दै सीमा समस्या समाधानका लागि भारतसँग छलफल गर्ने बताइसकेको छ । सत्तारुढ र विपक्षी दलले समेत भारतीय अतिक्रमणको विरोध गर्दै आएका छन् ।