लन्डन। बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकार सहभागी थिए।
साहित्यकार कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गरेका थिए।
नेपाली कविताका माध्यमबाट बेलायतमा रहेका नेपालीलाई आफ्नो मातृभूमिको भाषा, संस्कृति र साहित्यसँग जोड्ने तथा नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरमा फैलाउने उद्देश्यका साथ आयोजना हुँदै आएको काव्य यात्राको यो तेस्रो संस्करण हो।
प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले काव्य यात्रा बेलायतका विभिन्न सहरमा आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको सङ्ग्रह प्रकाशन गरिने जानकारी दिए।
विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भाषा र साहित्यको उन्नयन सबैको दायित्व भएको उनले बताए।

प्रतिक्रिया