भन्छ ऊ-‘म जनताको मान्छे !’


जनकराज पाठक ।

भन्छ ऊ-म जनताको मान्छे!’
तर जनता कहीँ देखिँदैनन्
केवल अहंकारको बासी गन्ध
कालो सिसाभित्र लुकाउँदै हिँड्छ।

नारा उही पुरानो–
‘हामी सफा राजनीति गर्छौं!’
तर फाइलहरूका कालो अक्षर
खित्का छोडेर हाँसिरहेछन् यत्रतत्र।
खै त नदीमा धोएर बगाएको पाप ?

बिहान सभामा दूधझैं सेतो
रात परेपछि चियाझैं कालो।
कसको ढोका ढक्ढक्याएन?
कसलाई चिर्कटो दिएर फर्किएन?

त्यो बाहेक सबै झूटो।
वास्तविकता त यो हो-
टेंडरको मोलमोलाई
कमिसनको गन्ध

अदृश्य कोषको सुनौलो चमक।
समय सकिन लाग्दा
गाउँलेले सोधे
‘हाम्रो माग कहिले सुन्ने दाइ ?’

ऊ मुस्कुराउँदै बोल्यो
‘अर्को चुनाव नजिकिँदैछ
त्यतिखेर फेरि सुन्छु नि
मीठो सपना बाँड्न!’

जनताको मान्छे फेरि आउँछ
कैलेंडरमा नयाँ मितिसँगै
उही कालो सिसा भित्र
उही पुरानो झूट बोकेर।