हो म बाहुन हुँ
–मित्रलाल सापकोटा
हो म बाहुन हुँ,
मेरो थरमा तिमीलाई किन आपत्ति ?
मैले, मेरा पूर्खाले तिम्रा सन्तानको के खाए ?
अनि आज म र मेरा सन्तान माथि किन ज्यादती ?
पूर्खाको चिनो मसँग यत्ति थर मात्रै छ,
ज्ञान गंगा सब मासियो
एउटा सानो घर मात्रै त छ ,
यसैमा पनि तिम्रो गिद्धे नजर किन ?
मलाई बाहुनवाद भन्दै खंञ्जर किन ?
यसो गर्दा के म तिम्रो हुन्छु भन्ठाने हौला,
संसारमा बराबर त कसैका छैनन् औंला
तिमी फेरि पनि जान्न चाहन्छौ म को हुँ ?
हो म बाहुन नै हुँ ।
मैले खाएको मेरो ज्ञान बेचेर हो
दुनियाँका कथा र ब्यथा लेखेर हो,
राजा र रंक सबैलाई
मैले सत्मार्ग देखाउँदा देखाउँदै पनि
बाटो बिराउनेहरुको दोष मैले लिनुपर्ने ?
तिमीले सत्ताको चाकडीमा थाकडी गर्दा
आफ्नाको मलाम छोडेर सत्तालाई सलाम गर्दा
बाहुनले कहिले रोकेको थियो ?
अनि आज बाहुनले तिम्रो प्रगति रोकेको ?
बिस्र्यौ र सत्तासँग मिलिमिली धोकेको ?
मैले लाचारी जानिन,
आफै खोज अनुसन्धान गर्थे
यसैले
अर्काको लहै लहैमा लागिन
मलाई कसैले बिर्ता दिएन
मेरो ज्ञानको भाडा फिर्ता दिएन
र पनि म हाँसी रहेँ
यो माटोको बासनासँग बाँची रहें
थाहा त किन ?
किन कि म बाहुन हुँ ।
मैले कुमारी ढोगें
मैले दशैं मानें
मैले माघी मानें
मै साकेलामा सँगै बसें
बुद्ध पूर्णिमामा साथै बसें
रोधी र झ्याउरेमा सँगै नाचें
मेरा चाडपर्व जे जे थिए ता पनि
तिम्रै सँस्कृति र परम्परामा रमाउन सिकें
आफ्नो भनेकै जहाँ बस्यो त्यहीँको मानें
वेद मात्रै होइन
त्रिपिटक र मुन्थुम पनि माने
मैले कसैको चाडमाथि टिप्पणी गरिन
कसैका सँस्कृति खिलाप खर्पन चलाएन
किन थाहा छ तिमिलाई ?
किन कि म मा त्यो संयमता छ
म मा हाम्रो साँस्कृतिक विविधतामा गर्व छ,
म सँगै हाँस्न सक्छु
साथ साथै बाँच्न सक्छु
यसैले त म बाहुन हुँ ।
मैले शासन कहिल्यै गरिन
म लाचार भएर शरण कहिल्यै परिन
मलाई लुखुरे बाहुन भन्दा पनि
म कहिल्यै कसैसँग डरिन
पाखुरामा ताकत छैन बाहुनको भन्दा पनि
म कमजोर कहिल्यै परिन
मेरा सन्ततीले खान नपाउँदा पनि
तन ढाक्ने टालो नपाउँदा पनि
न म रोएँ
न म कसैलाई आक्षेप लगाएँ
मैले आफ्नै भाग्यमा विश्वास गर्न सिकें
वसुधैव कुटुम्बकम् को शिक्षामा चलें
विश्व शान्ति पृथ्वी शान्ति र
सबैको कल्याण मन्त्र जपिरहें
यसैले त म बाहुन हुँ ।
मैले न कुनै गाउँको नाम फेरें
न मैले कुनै ठाउँको नाम फेरें
इङ वाङ थोक टार जे जे जहाँँ थिए
सबैलाई मैले मेरो थलो बनाएँ
न मैले कसैको धर्म सँस्कृतिमा भाँजो हालें
न मैले कसैको परम्परामा अड्को थापें
आनन्दित भैदिए जसले जसरी मनाउँदा पनि
कतै दुध कतै अण्डा त कतै रगत खनाउँदा पनि
सबै परम्परालाई मान्नसक्ने क्षमता म मा छ,
सबैलाई सम्मान गर्ने ब्रम्ह म मा छ,
रिस राग र बदलामा कहिल्यै हिँडिन