लघुकथा: नयाँ बर्षको उपहार
प्रभादेवी पौडेल।
-“मामु ! मामु ! नयाँ सालमा सागर र नितु चिल्ड्रेन पार्क जाने रे, ममता भाटभटेनि जाने रे हामी पनि कुनै रमाईलो ठाउँमा घुम्न जाउँ न है?” छोरो सुधिर र छोरी सुधाले एकै स्वरमा भने । -“बाबु नानु तिमीहरुको बुवालाई घुमाउन लाने फुर्सद नै कहाँ छ र एकपटक आफै सोधेर हेर त के भन्नु हुन्छ ।” -“मामु हामीलाई त डर लाग्छ साचि बाबाको अर्को घर पनि छ हो ?”
-“किन र छोरा?”
-“खै राती अबेर सम्म घर आउनुहुन्न। बिहान पनि खाटमा देख्दिन। उसले अझै रुन्चे स्वर लगाएर भन्यो ,-“अनि के मामु सागर र अनुस्कालाई त उनीहरुको बाबा स्कुल सम्म पुर्याउन र लिन आफै आउनुहुन्छ, हामी भने खाली भिम दाइसँग जानुपर्ने। साथीहरुले देख्ने बित्तिकै ऊ तिम्रो बाबा आउनू भयो भनेर खाली जिस्क्याउॅछन् ।”
यस्तै यस्तै अजय प्रतिका गुनासो आमा र छोरा छोरी बिच हुँदै थियो अजय पनि त्यही बेला टुप्लुक्क आईपुगे। पहिले देखिनै सबै कुरा सुनेझै गरेर उनले उषासँग भने,-” मैले भोलि एक दिनको लागि अफिसमा बिदा लिएकोछू । बाबु नानुलाई बाहिर लाने होइन बरु म आफै उनीहरु सँग खेल्छु , तिमीले उनीहरुलाई मन पर्ने परिकार बनाऊ। म चाहन्छु मेरा प्यारा छोरा छोरीको सामिप्यता कुनै बस्तु स्थान सॅग नभै हामीसँग होस्।”
नभन्दै पहिला नजिक पर्न डराएका सुधिर र सुधा झ्याम्मिएर कहिले बाबाको ढाड माथि चढ्ने र हट हट घोडा भन्ने , कहिले लुकामारी खेल्ने, कहिले काइयोले कपाल कोरिदिने गर्न लागे। छोरा छोरीको यो चाला देखेर उनी निक्कै भावुक भए। प्राइभेट जागिर न हो उनले बिदाको आबस्यकताको बल्ल महसुस गरे र हप्तामा एक दिन आफ्ना जहान परिवारलाई दिन थाले। बाबु आमा संगको सामिप्यता भन्दा ठुलो नयाँ बर्षको उपहार केनै हुँदोरहेछ र सन्तानका लागि ।
आखिर ऊनी पनि त सानै देखि अनाथ आश्रममा हुर्कीएका थिए।