लघुकथा: एनिभर्सरी डे
प्रभादेवी पौडेल।
बसुन्धरा र रघुको बिहे भएको पनि आज चालिस बर्ष पुगेछ। धन्दा सकेर भर्खरै मात्र मोबाइल चलाउन सिकेकी बसुन्धराले चोरी औलाले फेस बुकका फोटाहरु सार्दै गर्दा एक ठाउमा गएर टक्क अडिइन् र बुढा लाई भनिन्,-” बुडा हेर्नू त मेरो आँखा धमिलो भएर हो की क्याहो ठम्याऊन सकिन ? हेर्दा त काटी कुटी तल्ला घरे साईली जस्ती छ, सहरमा गएर अर्को बिहे गरिछ की क्याहो मोरीले?” यो सुनेर रघु खितिखिति हाॅस्दै भने ,-“फोटो त उसैको हो, बिहे पनि भएको हो तर उही बुढा सँग ।” -“हैन यता छॅदा त बुढा बुढीको त्यति राम्रो थिएन भन्थे, उसैसंग फेरि बिहे गरे गरह काटिन्छ भनेर हो बुढा?” -“त्यो त होइन, बाहिर बसेका छोरा छोरी बा आमाको सम्बन्ध अलि मजबुत बनोस् भनेर केक काटेर एनिभर्सरी मनाईदिएका रहेछन् ।”
यो देखेर मस्किदै बसुन्धराले भनिन्,-” बुढा सानैमा भाडाकुटी खेले झै गरि बिहे भो साची भन्ने हो भने अहिलेका दुलही सिंगारिए झै सिगरिएर, घुम्टो ओढि झ्याई झ्याई पन्चे बाजा बजाएर बिहे गर्ने रहर छ मलाई त।” यो सुनेर उनले जिस्क्याउॅदै भने,-” ल ल त्यस्तो रहरै भएको भए म कन्यादान दिऊला।” -“क्ष्या हजुरपनि त्यसरी नै त्यही के जाती मनाए हुन्न?” उनले कुरा फिसल्दै भने,-” साची भन त बसु , म तिमीलाई कतिको मन पर्छ?” उनले लजाउॅदै भनिन् -” त्यो त दोहोरै हो नी हजुर ,हजुरले पनि मेरो कति माया गर्नुहुन्छ अरुको मुखीन्जेल सराउनू हुन्छ।” -“साची बसु यो बिहे भनेको भाग्य चिट्ठा रहेछ , प्राय जसोका सम्बन्धहरु समझदारीमा टिकेका छन् अलिकति खटपट पर्ने बित्तिकै बिस्फोट हुन्छ, जेन तेन बर्ष कट्यो भनेर बिदेसिका झै एनिभर्सरी मनाउने चलन नेपालमा पनि भित्रिसक्यो। बरु फजुल खर्च गर्नु भन्दा हिंड जाउँ त्यो नजिकको मानव सेवा आश्रममा अशक्त हरुलाई आज बिहानको छाक खाना ख्वाउँ।”