ए आमा !



ए आमा !

ए आमा,
च्याँच्याँ गर्दै धर्तीमा आएँ
सबै पराई सबै बिरानो
अत्तालिँदै चिच्याएर रोइरहेँ

अझै ठूलो बनाएर धर्तीमा ल्याएको भए
अझै धेरै वर्ष आँफूभित्रै समेटी
जन्मदेखि मृत्युपर्यन्त सहारा खोज्ने
असहाय रुपमा नजन्माएको भए

जीवनको स्वरुप पूर्ण पो हुन्थ्यो कि ?
आफ्नै जाति मानवसँग रहँदा
जीवन सुरम्य बन्थ्यो कि ?
प्रेमको ब्यथाले हृदयमा लागेको घाऊ
जीवनभरको व्यथा बन्दैनथ्यो कि ?
ए आमा,

प्राणी दुनिया हेर त –
हात्तीको छावा दौडिहाल्छ
गाइको बाच्छा उफ्रिहाल्छ
मृग शावक नाचिहाल्छ …
तर, मलाई हेर त –

सहारा नहुनासाथ
जीवन अस्तित्व नै नरहने
तिमी स्वयंपनि हरपल सतर्क रहनैपर्ने –
दौडिँदा चोट लाग्ला भन्ने डर

उफ्रिँदा पछारिएला भन्ने त्रास
सुतिरहँदा लुगा फालेर
चिसोले बिरामी होला भन्ने सन्त्रास
एक गास कम खाँदा
बिरामी भयो कि भन्ने पीर
अनि, पीरै पीरमा तिमी पनि त
चाउरी पर्दै गयौ नि …
ए आमा,

म सानो छँदा –
कता गएर गुल्टुङ खान्छ भनेर
सतर्क रहेकै थियौ
अलि ठूलो भएपछि –
बिरानो ठाउँमा

जीवनदेखि निराश भएर भौँतारिँदा
तिमीले चुपचाप आँशु बगाएकै थियौ …
ए आमा,

दुनियाको भीडमा डुलिरहँदा –
छिर्कनी हालेर लडाउने भेटिए

कूटिल मुस्कानले लुट्ने भेटिए
अँगालो हालेर छुरी रोप्ने भेटिए

बरु, शारीरिक रुपमा सबल भएपछि
मानसिक रुपमा अब्बल भएपछि
कूटिल मुस्कानभित्रको कपट
चिन्न सक्ने भएपछि

धर्तीमा ल्याएको भए –
तिमीसँगै हिँडेर
तिमीभित्रै समेटिएर

जीवनको स्वाद लिन्थेँ हुँला
जीवनको रंग बुझ्थेँ हुँला
जीवनको कला सिक्थेँ हुँला
इन्द्रेणी जीवन बाँच्थेँ हुँला ….
ए आमा,

चकमन्न रातमा चन्द्रमा र तारासँग
खेल्न सक्ने भएपछि
बादलसँगै उडेर

पहाड छुन सक्ने भएपछि
समुद्रको गहिराईमा पुगी मोती
ल्याउन सक्ने भएपछि
धर्तीमा जन्म दिने गर्नु न है

ताकि कोमल तनहरु,
सुन्दर मनहरु
जीवनको रंगमा रमाउन सकून् …

प्रदीप ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको