आमाका आँशु …
आमाका आँशु …
आफ्नो शरीरबाट
अर्को जीवनको सृष्टिमा
सम्पूर्ण पीडा बिर्सेर
सन्तानतर्फ हेरेर मुस्काउँदै
आँशु टप्काउँछिन् आमा …
जीवनको यात्रामा
अनेकौँ व्यथाबाट गुज्रिँदै
सन्तानको रेखदेखमा
अभाव र अतृप्तताको त्रासमा
छटपटिँदै आँशु झार्दछिन् आमा …
राती झ्यालबाट बगेका आँशु
बिहानको घाममा
शीतको रुपमा मोती बनेर
टल्किने रैछन् आमाका आँशु …
अरुले आँशु नदेखुन् भनी
सबेरै उठी मुख धुन्छिन् आमा
रातभर आँखाबाट खसेका
आँशुले भिजेको सिरानी
बिहानै घाममा सुकाउँछिन् आमा …
बोल्न नसकेका, भन्न नसकेका
हृदयका व्यथा
आँखाबाट बर्षातसरी
अविरल झर्छन् आमाका आँशु …
आफ्नै सन्तानको पीरले
मनमा गुम्सिएका वेदना
मुहारमै सुकाउँदा सुकाउँदै चाउरी पर्छिन् आमा …
नचाहँदा नचाहँदै सहनु परेको
पुरुषको गन्धमा दबिएको चिच्याहट
सन्तानको हेलामा दबिएको स्वर
समाजको हेपाइबाट चिथोरिएको अस्तित्व
अनिश्चित भविष्यको त्रासमा
एक्लै वगरमा गएर कल्पिँदै गर्दा
वालुवामा झर्दछन् आमाका आँशु …
युद्धका विभीषिकामा
सन्तानलाई काखमा च्यापेर
सुरक्षित स्थानतर्फ भौँतारिँदै गर्दा
सन्त्रासमा खस्दछन् आमाका आँशु …
विधाताले खोसी लगेका
आफ्ना प्रियको वियोगमा
कल्पीकल्पी चुपचाप आँशु झार्दै
चाँडै धर्तीबाट लैजाऊ भनी
ईश्वरको पुकारा गरी
भक्कानिँदै आँशु झार्दछिन् आमा …
वालुवामा सुन, शीतमा हिरा
झरनामा चाँदी बन्दछन् आमाका आँशु
कहिले वर्षा त कहिले झरना
जीवनको लहरमा नदी बनेर
अबिरल बगिरहन्छन् – आमाका आँशु …
डा. प्रदीप ढकाल ।