लघुकथा : खुलेको आँखा
प्रभादेवी पौडेल ।
बिहान अबेर सम्म सुतिरहेको देखेर रविले आफ्नी पत्निलाई भन्यो,-” हैन अब उठ्नु पर्दैन र भन्या मलाई अफिस जान ढिलो हुन्छ ,की बिरामीनै हो भने यस्तो थोक भन्नु हस्पिटल जानु पर्यो नत्र आइमाई मान्छे यो आधा दिउसो सम्म सुतेको मलाई फिटिक्कै मन पर्दैन ।” -“ए झलमल्ल पो भै सकेछ है ? किन यो शरीर कर कर खाएर रात भरि झिमिक्क आँखा लागेन ,बिहानी पख निदाएछु ” भन्दै सविता हस्याङ् फस्याङ् गर्दै काम धन्दामा लागिन्।
ऊ फतफताउदै थियो ,बिनोदकी बुढी कति स्मार्ट बनेर हिन्छे आफ्ना त रुझेको बिरालो जस्ती ,न केही लाएको सुहाउॅछ, फुटेको कर्म। ”
भोली पल्ट पनि सविता सुतिरहेकी थिई। बिदाको दिन काम धेरै थियो। ऊ देख्न नसकेर साथीको डेरा तिर लाग्यो। साथीले कपडा घोइरहेकोले चिसै हातले जालीको चुकुल खोलीदीयो।उसले कपडा तिर हेर्यो बुढिका अन्तरिक कपडा पनि थिए। उसले सबै कोठा तिर आँखा डुलायो साथीकी बुढी सिरानीको आडेस लगाएर मोबाइल खेलाउॅदै थिई । घरको जताततै फोहर ,सामान छरपस्ट थिए । अनुहार पनि फुस्रो कपाल जिन्ग्रिङ कपडा उस्तै उसले पहिलाको रुप र आजको रुपमा निक्कै भिन्नता पायो र साथीलाई प्रश्न गर्यो ,-“हैन भाउजुलाई सन्चो छैन की क्याहो तँ आफै कपडा धुँदै छस् त?” -” हेर न यो लगातार एक हाप्ता सम्मको झरी बादलले गर्दा अपरेशन गरेकी मान्छे ज्यान कर करि खान्छ रे झन् भाउजु को त तीनतीन वटा अपरेशन
कस्तो भयो होला है? के गर्नु आफ्नो मान्छे उमेर मै जतन नगरे बुढो भएपछि दु:ख पाइएला भनेर नी “भन्दै कपडा मिच्दैको हात पखालेर भान्छा तिर पस्यो।
बुढीलाई दूई गिलास तातो पानी पुर्याएर मीठो चिया पकायो। साथीले खाना खाने कर गरेपनि ऊ घरतिर लाग्यो। उसले आज पनि तुलना गर्यो। सवितामा बिना सृगार आन्तरिक र बाह्य दुबै सुन्दरता भेट्यो। घर पुग्ने बित्तिकै बुढीलाई आराम गर्न लगाएर आफै खाना बनायो। घरमा सबै कुरा भरिपुर्ण भएपनि एउटा कुरा न पुगेको परिवार आज पुर्ण भयो ,त्यो प्रेम थियो।