लघुकथा: छोरी-बुहारी
प्रभादेवी पौडेल ।
मन्जुले दोश्री छोरीको पालामा दुखी हुँदै बुढाको नजिकै गएर भनिन्,-” अब अर्को सन्तान नजन्माउने है?” यो सुनेर तिलकले भने ,-“मलाई त केही थिएन आमा नै मान्नू हुन्न ,म पनि तीन दिदीहरु पछिको एउटा छोरो मुनी दूई बहिनीहरु,अरु दाइ भाइ भाए पो अरुले पाउलान् भन्नु थियो हाम्रो बंश नै नाश हुन्छ रे , के गर्ने मन्जु तिम्रो चित्त दुखाउने मेरो चाहना त होइन,मैले एक पटक त कुरा पनि गरेको हो डाँकोले टिप्नु भयो।”हुन पनि यदि नाति न जन्मेको खन्डमा छोराको अर्को बिहे गरेर भएपनि नातिको मुख हेर्ने ठुलो धोको थियो आमाको।चार छोरीबाट आमालाई सन्तोष मिलेको थियो।
हेर्दा हेर्दै मन्जुका चार वटी छोरी र एक छोरा जन्मिए। उनी निक्कै कमजोर बनिसकेकी थिइन्। उनी आएपछि दूई नन्दको बिहे भयो। कान्छी नन्दको बिहे बिदेश गएका केटासंग भएको थियो। मन्जुकी सासुआमालाई कान्छी नन्दको घरमा सासु नहुनाले छोरी सुत्केरी हुँदा बिदेश जाने मौका मिल्यो।नन्द सुत्केरी भएको थाहा पाएर मन्जुले फोन गरिन्। सासु आमा खुसी हुँदै भनिन्, “पहिला लक्ष्मी आइन्।”
सासु आमा दोश्रो पटक पनि छोरी सुत्केरी हुने बेलामा बिदेश गईन्। यो पाली भने उनी निक्कै परिवर्तन भई सकेकि थिईन्। छोरीलाई लामो ब्यथा लाग्यो बच्चा जन्मीन न सकेर तुरुन्त अपरेशन गर्नु पर्यो।नन्दलाई दिईएको डेटमा मन्जुले सासु आमालाई फोन गरिन्।मन्जुले बोली सिध्याउन न पाउॅदै सासु आमाले भनिन्, -“अहिलेको जमानामा छोरा र छोरीमा के फरक छ र ? छोरीकै कारणले त म अहिले बिदेश छु।” यो सुनेर मन्जुले भनिन् -“आमा हाम्रा भन्दा नानीका कुल पितृ दयालु रहेछन् हगि ,ज्वाई साहेब पनि एउटै छोरा होइन र ?”