लघुकथा : आमा
लघुकथा : आमा
सदन कुमारीका पाँच भाइ छोरा थिए । जेठा थिए कुल प्रसाद शर्मा । उनी बलिया थिए, पहलमान जस्ता । अन्याय गर्न नडराउने पनि थिए उनी । भाईहरूलाई अंशवण्डामा ठगिरहेका थिए । सदन कुमारीलाई मन परेको थिएन त्यो कुरा । उनले, “भाइहरूका बिचमा बराबर बाँड हाम्रो सम्पत्ति” भनिरहेकी थिइन् ।
“भाइहरूलाई माया गर है जेठु !”
“माया गरेको छु आमा ।”.
“मसँग आएर रोइ रहेका छन् त भाइहरू ।”
“त्यस्तै लोभि छन् आमा भाईहरू । मेरो सम्पत्ति पनि आफै खान खोजेका छन् ।”
“होइन । मैले देखि रहेकी छु । तिमीले भाइहरूलाई थिचेका छौ । मदुसमा बाबाले राखेको हिरा, सुन, चाँदी र नगद सबै तिमीले नै राखेका छौ ।” आमाले दिनदिनै भनि रहन्थिन् ।
कुलप्रसादले पत्नीलाई भन्यो_
“यो बूढीको बाँसुरी धेरै बज्यो ।”
सम्पत्ति एक्लै हडप्ननका निम्ति के गर्नुपर्ला भन्ने विषयमा उनीहरूका बिचमा गहिरो छलफल भयो । मदुसभित्र कति सम्पति छ भन्ने कुरा अरू कसैलाई थाहा थिएन । त्यो आमालाई मात्र थाहा थियो । बुढी रहुन्जेल त्यो सबै सम्पत्ति हडप्न नपाइने भयो भन्ने निष्कर्ष निस्कियो ।
पति पत्नी, आमा निदाइ रहेको अोछ्यानमा पुगे, डोरी लिएर हात टक्टकाउँदै बाहिर निस्के । दुवैले एउटै आवाजमा भने_
“नरहे बाँस, नबजे बाँसुरी ।”
त्रिलोचन ढकाल
आनन्दआश्रम, स्याङ्जा