लघुकथा: परिबन्द
प्रभादेवी पौडेल ।
धेरै बर्ष बिदेश बसेर मनग्य कमाएर धुमधाम संग बिहे गर्नै भनेर छोरो आएकोले धर्मराजले मन फुकाएर खर्च गर्न लागेका थिए।नेत्रलाल नयाँ छिमेकी भर्खर पहाडबाट बसाई सरेर सहरमा आई घर बनाएको थियो। उसले छिमेकीको छोराको बिहेमा जन्ति जाने निम्ता नपाए पनि पार्टिमा जाने सौभाग्य पाएको थियो।
उ अघिल्लो दिन बाटै पार्टीमा जाने भनेर दार्ही कपाल मिलाएर पुरानै भएपनि दौरा सुरुवाल धोएर सुकिला बनाई कोटमा पनि स्तिरी लगाएर सजिएर तयारी अबस्थामा थियो।किन भने उसको सहर आएपछिको पहिलो भोज थियो उसको । पार्टिमा उही दुलाहको बाउलाई बाहेक अरुलाई त्यति चिनेको थिएन।पार्टी पाँचबजे शुरु भयो।त्यहाॅ म्युजिकको तालमा पिएर झुम्ने महिला पुरुष सरावरी थिए । उसले मादक पदार्थ आज सम्म चाखेको थिएन।सबैले बोत्तलको सारेर गिलास भर्दै प्युदै गरेको देख्दा उसलाई पनि लोभ लाग्यो।सित्तैमा पाइने कुरा उ किन पछि हट्थ्यो र बेसरी पियो।उ नयाँ हुनाले कसैले पनि मतलब राखेनन्। निक्कै लागेपछि उ घर जान्छु भनि हिड्यो।
आफ्नै घर सम्झिएर छिमेकीको घरको ढोका खुलै देखेर भित्र पस्यो जहाँ एक अबिवाहित असक्त महिला मुख र आँखामा पट्टी र दुबै हात गोडा डोरीले बाँधिएको अबस्थामा थिईन्। उसले सबै बन्धन खोलिदियो।उनले हार गुहार गरेपछि सबै जम्मा भए र प्रहरीमा खवर गरे।पार्टी सकिएपछि सबै घर गए,तर उ फर्किएन । घरका जहान नयाँ ठाउॅ हुनाले निक्कै चिन्तित भए दुलाहको घरमा गएर बुझे, उ पहिल्यै निस्केको खवर जानकारीमा आयो। त्यो राती सबै नशामा थिए चिनेको कोहि छैन कसले साथ दिने र? उनीहरु चिन्तामा डुबेर रातभरी सुतेनन्।
बिहानी पख नेत्रलाललाई बिस्तारै नशाले छोड्दै गयो उ प्रहरीको नियन्त्रणमा रहेछ।उ छाॅगाबाट खसेझै भयो।आफ्नो फोन हराएकोले उसले घरमा फोन गर्न लगायो। पत्नी रुँदै आइपुगिन्। प्रहरीका अनुसार उसले नशाको तालमा एउटी अशक्त महिला माथि बलात्कार गरेको आरोप लाग्यो। ऊ जेल पर्यो।दिनानुदिन उक्त महिलाको पेटमा बच्चा बढ्दै गैरहेको थियो।आमा र बच्चाको जिम्मा आजिवन नेत्रलालले बेहोर्ने सर्तमा उ जेल बाट छुट्यो।
भरतपुर ९,चितवन