लघुकथा : नयाँ सिरक
म्यामराज राई ।
४३ वर्षीय हर्निलाल श्रीमती,एक छोरा र एक छोरी च्यापेर बुबाआमाको ठूलो जहानबाट छुटेको पनि ५वर्ष पुगेछ।नेपालमा जागिर खानेगरि पढेको छैन।विदेश पनि करिब ७ वर्ष जति बसे,आर्थिक रुपमा उँभो लाग्न सकेनन्।
छोरो ठूलो भएकोले कुरा बुझ्छ तर छोरी सानी छे अलिक बुझ्दिनन्।”नयाँ सिरक किन्दिन्छु भनेर ड्याडीले भन्नुभएको पनि ३वर्ष भइसक्यो”आमामाथि चेतावनी लवजमा छोरीले अडान कस्दैथिइन् “यो हिउँदमा त नकिनिदिएसम्म घरायसी काम केही पनि सघाउँदिन,पढ्न पनि जाँदिन,भातै खाँदिन,चल्दैचल्दिन।”
हिजो बेलुकी किचनमा आमाछोरीका कुराकानी सुत्ने कोठाबाट अप्रत्यक्षरुपमा सबै सुनेका हर्निलाल एकाबिहानै कसैलाई नभनि सरक्क मुलघर(बाबुआमाको घर)गएर सबै फ्याँकिएका पुरानो लुगाफाटोहरु सियो धागोले एकार्कामा जोडे,कम्तिमा सामान्य एउटा सिरक आकारको देखिनेगरि।त्यसपछि,नजिकैको बजारबाट नापानुसारको खोल समेत किनिल्याएर हाले।
छोरीको चेतावनीसहितको घुर्काइ सुनाउन बिहानदेखि हर्निलाललाई श्रीमतीले शौचालय,गाईगोठतिर खोजिन्,भेटिनन्।फोन गरेको फोन पनि छोडेर गएका रहेछन्।पछि पो थाहा भयो,हिजोको कुरो लुकेर सुनेकै आधारमा सिरक बन्दोबस्तगर्न गएका रहेछन्,करिब दिउँसो २बजेतिर त छोरीको हातमा नयाँ सिरक थमाईदिन भ्याए।आमामार्फत बाबालाई घुर्क्याएको २४घण्टा नबित्दै जाडो छल्ने सिरक,त्यो पनि नयाँ पाएँ भनेर सोंच्दै छोरी गमक्क भइन्।”मेरो ड्याडी थ्यांन्क्यू सो मच!”भन्दै बाबालाई अँगालो हालिन्।
॰॰॰॰॰
हतुवागढी – ६,होम्ताङ्,भोजपुर
हाल:-जापान