लघुकथा: गणतन्त्र
प्रभादेवी पौडेल ।
बिद्यालय गएको छोरोले घर आउने बित्तिकै आमासंग सोध्यो, -” आमा हाम्रा बा खोई? साथीहरुका बा त स्कुलमा आई रहनु हुन्छ सर मिस संग भेटीरहनु हुन्छ,भन्नु न आमा हाम्रा बा खोई?” छोराका कुरा सुनेर आमाले भावुक हुँदै भनिन् , -“कति जिद्दी गर्छ यो बा गणतन्त्र लिन गएका छन् भनेपछि।” -” कहिले आउछन् त आमा ?” -“भोली पर्सी आउछन् बाबु।” -” आमा यो गणतन्त्र भनेको के हो ?” यस्को बारेमा म पनि त्यती कहाँ जान्दछु र बाबू अर्थ लाउॅन त्यही पनि हामी सबैलाई सजिलो हुन्छ रे,राजधानी घरघरमा आउछ रे ,दुखी गरिबलाई गास बास र कामको ब्यबस्था हुन्छ रे शिक्षा स्वास्थ सबैले सजिलै पाउॅन सक्छन् रे।” -“ए राम्रो रहेछ त हगि आमा, त्यसपछि त तिमीलाई साहुबाको मा भाडा मोल्न जानु पर्दैन होला, ढलाईमा हिडिरहनू पर्दैन होला है आमा? तर ढलाई त राम्रै लाग्यो आमा मलाई त पेटभरि मासू भात खान पाइने रहेछ।”
दिनहरु बित्दै थिए एक्दिन बिद्यालयमा अन्तिम पिरियडमा सरले सुचना सुनाउॅदै भन्नु भयो ,-“भोली बिदा गणतन्त्र दिवस घर घरमा दीप प्रज्वलन गर्नु पर्छ है।” लालुले उठेर भन्यो,-“सर गणतन्त्र भोली आउॅछ हो?” उसका कुरा सुनेर सरले भने , -“तिमीलाई थाहा छैन गणतन्त्र त पहिल्यै आई सक्यो त।” उ घर गएर आमालाई भन्यो ,-“आमा म संग किन झुट बोलेको गणतन्त्र त आई सक्यो रे त।”यो सुनेर आमाले भनिन्,-” आउन त आएको हो छोरा राजधानी सम्म तर यो गरीबको झुपडी सम्म आउन समय लाग्ला जस्तो छ।”- ” ह्या आमा कहिले हो कहिले मलाई त चाहिएको छैन त्यो गणतन्त्र सणतन्त्र बरु बालाई रित्तै फर्किनु भन्नु मलाई बा भए पुग्छ।”बिचरी आमाले के उत्तर दिने उनका पति त जन आन्दोलनमा पहिल्यै सहिद भएका थिए।
भरतपुर९,चितवन