लघुकथा : लौखा
तुलसी पण्डित ।
यो भएन । त्यो भएन । के हो यो सरसफाइ गरेको ढङ्ग ।भाँडा माझेको भएन । कपडा धोएको भएन । घिच्न मात्र जानेकि छ । फेरि पैसा दिनु पर्छ । हेर मैले भनि दिएको छु । अब देखि काम राम्रो गर । खरदार्नी बजै निरमायाको झाको झार्दै हुनुहुन्थ्यो ।
धन्य खरदारले सरकारी कार्यालयमा राम्रै अपिस भेट्टाएछन् र खरदार्नीले पनि मान्छे कजाउन पाएकी छन् ।
निरमायाले उनको घरमा काम गरेको पाँच वर्ष भयो । खरदार्नीको घरको सबै काम उनले गर्नुपर्छ ।कपडा धुने देखि खाना, पकाउने सरसफाइ , किनमेल सबै निरमायाको थाप्लोमा छ । त्यति हुदा पनि खरदार्नी बजैको चित्त बुझदैन र गाली गरिरहन्छिन् । के गर्ने ऊ विवस छ गरिबीले ।त्यति न गरे घरको बालबच्चाको मुखमा माड लगाउन सकिँदैन ।
एकदिन निरमायले छोरो बिरामी भएकोले तलब अगाडि दिन अनुरोध गरिन् । अँह बज्यैले दिइनन् । झन् उल्टो सराप्न थालिन् ।
निरमायको मन भाँच्चियो । ऊ अर्को दिनबाट काममा आउन छोडी । उसले अग्रिम पैसा लिएर अन्तै काम खोजी ।
यता सुबेदार्नी बजैलाई समस्या भयो ।घरको यावत काम आफैले गर्नु पर्यो । बल्ल उनले धन्य निरमायाले कसरी यति धेरै काम गर्न सकेकी होली भन्ने लाग्यो । उसले बूढालाई भनेर निरमायालाई लिन पठाइन्। निरमायाले अन्तै काम खोजेर गर्न थालेको कुरा बताइन् ।
“निरमाया अन्तै काममा लागिछ ? ” “ल बूढा त्यसो भए अर्कै मान्छे भए पनि खोजेर ल्याउँ । म घरको काम गर्दागर्दै आजित भैसके ।” मान्छे त ल्याए बूढाले तर फित्तिकै काम न गर्ने । केही भने मुखमुखै लाग्ने । खरदार्नी बज्यैलाई काममा कत्ति चित्त बुझेनछ ।”भो भोलि देखि तँ काममा न आइज ” भनेर थर्काइन् ।
“ए हामीलाई एक वर्षको लागि भनेर ल्याए पछि कि पूरै समय राख्नु पर्छ । हैन भने एक वर्षको तलव दिनुपर्छ ।” खर्दार्नीलाई अति रिस उठेछ । “ला एक वर्षको तलव” भन्दै धकेली दिइन् । रिसको झोकमा उसले खरदार्नी बजैलाई “लौखा त भन्दै मुखैमा बजाइ ।”