बा,आइपुग्नु भएन
बा,आइपुग्नु भएन
ईश्वर गरीब भएको हुनुपर्छ
मजदुरहरु भोकै मर्नु परेका छन्
मस्जिदको ईश्वरले मुख छोपेको हुनुपर्छ
दुख पा’को,हेरिरहेको छन् ।
गुम्बाको ईश्वरले आँखा चिम्लेको हुनुपर्छ
मन्द आवाजमा चुपचाप बसेका छन् ।
सायद
ईश्वारलाई पनि कोराना लागेको हुनुपर्छ।
ईश्वारले आफ्नो भक्तलाई पनि
प्रवेश निषेध गरेको छ
लकडाउन पछि
बा’को खबर पाएको छैन
घरमा बा आइपुगेको छैन ।
न बा गणतन्त्र खोज्न हिड्यो कि?
त्यो दिन
जाने बेला भन्नू भा’थ्यो
ईश्वरलाई भेटेर दुःख बिसाउँछु
सुखहरु लिई फर्कि आउँछु
तर लकडाउन पछि
बा’को खबर पाएको छैन
घरमा बा आइपुगेको छैन।
खुले पनि आकाश
र घरको बाटो
चले पनि पाइताला
यही पाइताला चाल्दै चाल्दै
पैदलै पैदलमा
खाली खुट्टाहरुले
माटो भेटें
देश अलिकति भेटें
तर
यो सहरको
यति धेरै घुम्तीहरुमा
यति धेरै मान्छेहरुमा
बा’का अनुहार भेटिएन ।
च्यातिएको जिन्दगी बोकेर
फर्किरहेका पैदलयात्रीहरुमा पनि
बा’को अनुहार भेटिएन
महानगरको धुलोले
पुरिएको बिरुवा झैं भएको छ मन
बरु राजधानीमा सुर्य बहादुर भेटियो
तर
लकडाउन पछि
बा’को खबर पाएको छैन
घरमा बा आइपुगेको छैन।
न बा गणतन्त्र खोज्न हिड्यो कि ?
जसरी कालो बिरालोले बाटो काट्दा
बुद्धत्व प्राप्त गरेका गूरु रोक्छ
प्रभुको नाममा पादरी रोक्छ
टक्का पुजारी पनि रोक्छ
त्यस्तै गरि
बा!कतै रोकिनु भयो कि ?
बेपत्ता भएका सन्तान सम्झेर
आमाको आँसु रोके झै
सास सकेर ढुकढुकी रोके झै
बा!यतै कतै रोकिनु भयो कि?
ईश्वर,
बा आइपुगेकै दिन
सोही समयमा बत्ती बाल्छु
राष्ट्रियगान पनि गाउछु।
म त भक्त हुँ
तिम्रै महिमा गुनगुनाउछु
मेरो ईश्वर भनेकै सरकार हो।
बा!खोजीदिनुस् न
लकडाउन पछि
बा’को खबर पाएको छैन
घरमा बा आइपुगेको छैन।
न बा गणतन्त्र खोज्न हिड्यो कि?