अनुहारको कविता
बाँकी छ आँखाले देख्न अँध्यारोका किरणहरू
स्टेथेस्कोपमा सुनेर मुटुको ढुकढुकी बाँकी छ भर्न शताब्दीको संगीत
पहाडै-पहाड अग्लिएर शिरहरू
मानिस धरोहर भएको हो
खोलाहरु बगेर नसा-नसामा
जीवन रसाएको हो
जङ्गलै-जङ्गल गुजुल्टिएर
चेतना
विराट भएको हो अस्तित्व,
सिकाउनु छ मानिसहरूलाई कोष-कोष मिलेर,
अङ्ग- अङ्ग मिलेर,
समृद्ध भएको हो प्रकृति
कसरी फरक छौं हामी कण-कणमा, जान्नु छ
कसरी उस्तै छौं हामी वृहत्तर रूपमा,
बताउनु छ
X-ray मा हेरेर समयको
चित्र
ओखती गर्नु छ देशको क्षयग्रस्त छाती,
मुस्कान दिनु छ ओठ
हराएकाहरुलाई,
दृष्टि दिनु छ ज्योति गुमाएकाहरुलाई,
यात्रा दिनु छ,
गन्तव्य दिनु छ
लर्खराएकाहरूलाई
जीवन दिनु छ ‘जीउनु’बाट
टाढिएकाहरूलाई
फुलाउनु छ यही धरतीको
आँगनमा सृष्टिका फुलहरू,
सकुशल राखेर आत्माको
आवाज
निर्माण गर्नु छ चेतनाको पुञ्ज
र टाँग्नु छ देशको आकाशमा ,