“म विवाहित” देखिनुपर्छ रे
“एउटा सानो टिका लाउने कि?”
अनुरोधका यी लवजहरु,
“दुईवटा चुरा त लाउ” ,
आदेशका यस्ता आवाजहरु,
“किन केहि नलाएको?”
सवालमाथि सवालहरु ,
“विहे भएको जस्तो नै देखिएन”,
व्यंगका प्रहारहरू
सुनिन्छन् ।
गुन्जिन्छन् ।
किन कि
अब म विवाहित रे ।
मेरो रुपमा,
विवाहको प्रमाण देखिनु पर्छ रे ।
सिउदो मा सिन्दुरले,
“म विवाहित” देखिनुपर्छ रे ।
तर
चुरा त फुटीजान्छ,
पोते त चुडीजान्छ ।
सिन्दुर नि पुछिजान्छ,
गाजल नि सुकिजान्छ ।
यी बेठेगानका निर्जीव वस्तुमा
मेरो विवाहको ठेगान किन खोज्छौ ?
चुरा, पोते, सिन्दुरलाई मात्र
विवाहको प्रमाण किन सोच्छौ ?
हो ! म विवाहित ।
मनले, मस्तिष्कले,
मेरो “साथी”को साथले,
नयाँ परिवारको आशिरवादले ।
मलाई पोते भन्दा बलियो ,
सम्बन्धले कसेको छ ।
सिन्दुर भन्दा गाढा,
माया बसेको छ ।
चुरा टुटे नि, कहिले नटुट्ने विश्वास छ ।
पोते छिने नि, कहिले नछुट्ने साथ छ ।
त्यसैले
म विवाहित ।
मेरै नियमले ।
मेरै काइदाले ।
विवाहको बेग्लै
मेरै परिभाषाले ।
तर
म “आधुनिक” भएकी होइन ।
शृंगार विरोधी बनेकी होइन ।
म केवल “आफू” भएकी हु ।
मनले चाहे सरी बनेकी हु ।
मलाई,
शृंगार, गहनाले
दुई दिने
चिटिक्कको“पुतली” होइन
माया र भावनाले,
जुनी भर
बुझ्ने“साथी”बन्नु छ ।
त्यसैले
म विवाहित,
आफ्नै लयमा
आफ्नै परिभाषामा!
प्रभा बास्तोला