सिंगापुरमा कोरोना महामारीका बेला बच्चा जन्माउन प्रोत्साहित गर्न पैसा दिइने



कोरोनाभाइरस महामारी फैलिएको भए पनि मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न सिङ्गापुर सरकारले एक पटकका लागि भत्ता दिने प्रस्ताव गरेको छ ।

आर्थिक सङ्घर्ष गर्नुपर्ने र जागिर गुमाउने नागरिकहरूले सन्तान पाउने योजना स्थगित गरिरहेकोमा सरकारलाई चिन्तित बनाएको छ । महामारीमा बच्चा जन्माउन चाहने अभिभावकलाई कति रकम उपलब्ध गराइनेछ भन्नेबारे विस्तृत विवरण चाहिँ सार्वजनिक भएको छैन ।

बच्चा जन्माउन प्रोत्साहनस्वरूप सिङ्गापुर सरकारद्वारा दिँदै आइएको बोनसबाहेक अतिरिक्त रकम दिन लागिएको हो । सिङ्गापुरमा संसारकै कममध्ये जन्मदर छ जसलाई बढाउन दशकौँदेखि सरकार सङ्घर्षरत छ ।

कोरोनाभाइरस महामारीलाई लिएर गरिएको लकडाउनका बेला फिलिपिन्स र इन्डोनेशियाजस्ता छिमेकी देशमा गर्भवती हुनेहरूको सङ्ख्यामा व्यापक वृद्धि हुनसक्ने बताइँदै गर्दा सिङ्गापुरमा त्यसको विपरीत अवस्था देखिएको छ ।

सिङ्गापुरका उपप्रधानमन्त्री हेङ स्वी कीटले कोभिड १९ का कारण बच्चा पाउन चाहने कतिपय अभिभावकले त्यो योजनालाई स्थगित गर्न चाहेको आफूहरुले प्रतिक्रिया पाएको बताए ।

महामारीका बेला बच्चा पाउन चाहने अभिभावकलाई कति र कसरी रकम उपलब्ध गराउने विषयमा पछि जानकारी गराइने उनले बताए । सिङ्गापुर सरकारले हाल ‘बेबी बोनस सिस्टम’ अन्तर्गत योग्य अभिभावकलाई १० हजार अमेरिकी डलरसम्म उपलब्ध गराउँदै आएको छ ।

सन् २०१८ मा सिङ्गापुरमा प्रजननदर आठ वर्षयताकै सबैभन्दा कम अर्थात् प्रतिमहिला १.१४ थियो । धेरै एशियाली मुलुकले प्रजननदरमा यस्तै समस्याको सामना गर्दै आएका छन् र कोरोनाभाइरस महामारीका बेला यो समस्या झन् दयनीय हुन सक्ने बताइन्छ ।

यसै वर्षको आरम्भतिर चीनमा प्रजननदर ७० वर्षअघि चिनियाँ जनगणतन्त्र स्थापना भएयताकै सबैभन्दा न्यून बिन्दुमा झरेको थियो । निकै आलोचित ’एक सन्तान’ नीतिमा खुकुलोपन ल्याइए पनि त्यस्तो समस्या देखिएको हो ।

तर सिङ्गापुरका केही छिमेकी देशमा उल्टो खालको समस्या देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका अनुसार फिलिपिन्समा यदि महामारी नियन्त्रणका लागि हिँडडुलमा प्रतिबन्धहरू यो वर्षको अन्त्यसम्म कायम रहे पाँच लाखदेखि २५ लाखसम्म अनिच्छित गर्भ रहनेछ ।

दक्षिणपूर्वी एशियाली मुलुकमध्ये फिलिपिन्सको जनसङ्ख्या दोस्रो ठूलो अर्थात् १० करोड ८४ लाख छ । फिलिपिन्स यो क्षेत्रकै कोरोनाभाइरसबाट सबैभन्दा नराम्ररी प्रभावित हुने मुलुकमा पर्छ । त्यहाँ हालसम्म ३,०७,००० जना व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका