ठगीको आरोपमा थाइल्याण्डमा दुईजना रेष्टुराँ सञ्चालकलाई १,१४६ वर्ष जेलसजाय!
थाईल्यान्डको एउटा अदालतले मानिसहरूलाई ठगेको आरोपमा दुईजना रेष्टुराँ सञ्चालकलाई जनही १,१४६ वर्ष जेलसजाय सुनाएको छ । गत वर्ष लाएमगेट सीफूड रेष्टुराँले अनलाइनमार्फत पहिल्यै भुक्तानी गर्नुपर्ने व्यवस्था शुरू गर्यो । थाईल्यान्डको पीबीसी च्यानलका अनुसार बीस हजार जति मानिसले पाँच करोड थाई भाट बराबरको भौचर खरिद गरे ।
तर पछि कम्पनीले माग पूरा गर्न नसक्ने भन्दै रेष्टुराँ बन्द गर्यो । सयौँ मानिसले उजुरी गरेको आधारमा अपीचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक पक्राउ परे । थाईल्यान्डमा उजुरीको सङ्ख्याका आधारमा ठगी गरेको प्रमाणित भएकाहरूलाई लामो जेलसजाय दिइनु असामान्य चाहिँ होइन ।
यद्यपि थाई कानुनले मानिसहरूलाई ठगी गरेको अभियोगमा २० वर्ष जेलसजाय तोकेको छ । गत वर्ष लाएमगेट सीफूड रेष्टुराँले ग्राहकले पहिल्यै भुक्तानी गर्नुपर्ने गरी विभिन्न खाले फूड भौचर विक्री गर्न शुरू गरेको थियो । एउटा स्किम अनुसार ८८० भाटमा १० जनाका लागि सीफूड पाइने भनियो जुन सामान्य मूल्यभन्दा धेरै नै सस्तो थियो ।
शुरूमा भौचर किन्नेहरूले रेष्टुराँमा खानेकुरा पाउन सके तर थाइ पीबीएसका अनुसार लामो वेटिङ्ग लिस्ट हुँदा कैयौँ महिनासम्म बुकिङ्ग चल्यो । तर मार्चसम्म पुग्दा लाएमगेट इन्फिनिट नामक कम्पनीले माग अनुसार सीफूड दिन नसक्ने भन्दै रेष्टुराँ बन्द गर्ने घोषणा गर्यो ।
थाई पीबीएसका अनुसार कम्पनीले भौचर खरिद गरेका ग्राहकहरूलाई पैसा फिर्ता गर्ने प्रस्ताव गर्यो ( ८१८ मध्ये उजुरी गरेका ३७५ जनाले रकम फिर्ता पाए ।
त्यसपछि ठगीको आरोपमा बाँकी सयौँले कम्पनी र त्यसका सहसञ्चालकहरूविरुद्ध उजुरी दिए । गलत सन्देशमार्फत मानिसहरूलाई ठगेको आरोपमा अपीचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक पक्राउ परे । ७२३ जनालाई ठगेको अभियोगमा बुधवार उनीहरू दोषी ठहर भए र अदालतबाट जनही १,१४६ वर्ष जेलसजाय पाए । गल्ती स्वीकार गरेपछि उनीहरूको सजाय आधाले घटाएर ७२३ वर्ष पारियो। तर उनीहरूले बढीमा २० वर्ष जेलसजाय काट्नुपर्ने हुन्छ ।
उनीहरूको कम्पनीलाई १८ लाख भाट जरिवाना तिर्न अदालतले आदेश दिएको छ र सहसञ्चालक तथा कम्पनीलाई क्षतिपूर्ति स्वरूप पीडितहरूलाई २५ लाख भाट तिर्न पनि आदेश गरिएको छ । सन् २०१७ मा एउटा थाई अदालतले ठगी गरेको अभियोगमा एक जनालाई १३ हजार वर्ष जेलसजाय सुनाएको थियो ।