च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’
न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको सामना गरिरहेका छन् । एकजना न्यायाधीशले अदालतले ‘विशिष्ट अवस्थामा’ आफूलाई उभ्याउनुपरेको भन्दै उनले प्रस्तुत गरेका मिसिलमा हुँदै नभएको घटनाको उदाहरण दिइएको जनाए ।
च्याटजीपीटी प्रयोग गरेका ती वकिलले अदालतलाई भने, ‘उसको सामग्री गलत हुनसक्छ भन्ने मलाई लागेको थिएन।’ च्याटजीपीटीले अनुरोधका आधारमा वास्तविक सामग्रीहरू सिर्जना गर्छ। तर उसले आफूले ‘गलत सूचना पनि दिनसक्ने चेतावनी’ उसले दिने गर्छ। वास्तविक मुद्दा एक व्यक्तिले आफूलाई लागेको व्यक्तिगत चोटका लागि एउटा वायुसेवाविरुद्ध क्षतिपूर्ति मागेको विषयसँग सम्बन्धित छ । उनको कानुनी टोलीले बुझाएको टिपोटमा विगतका कैयौँ अदालती मुद्दाहरूबारे उल्लेख गरिएको छ जसमा ती नजिरलाई उल्लेख गर्दै किन मुद्दा अघि बढ्नुपर्छ भन्ने चर्चा गरिएको छ ।
तर पछि वायुसेवाका वकिलहरूले उक्त टिपोटमा चर्चा गरिएका नजिरका रूपमा चर्चा गरिएका कैयौँ मुद्दाहरू आफूले भेटाउन नसकेको बताए । ‘६ वटा मुद्दाको निर्णय भनिएका कुराहरू गलत थिए र त्यसमा जथाभाबी उदृत गरिएको थियो,’ न्यायाधीश कास्टेलले आदेशमा लेखेका छन्। उनले ती व्यक्तिको कानुनी टोलीसँग स्पष्टीकरण पनि माग गरेका छन् ।
उक्त मुद्दाका लागि अनुसन्धानको काम वकिल पिटर लोडुकाले नभई उनकै ल फर्मका एकजना सहकर्मीले गरेको खुलेको छ । तीस वर्षयता वकिल रहेका स्टिभन ए स्वार्जले विगतका त्यस्तै प्रकृतिका मुद्दा हेर्नका लागि च्याटजीपीटीको प्रयोग गरेका थिए । एउटा लिखित विज्ञप्तिमा उनले लो डुका अनुसन्धान टोलीमा नरहेको र उनलाई कसरी त्यसो भयो थाहा नभएको जनाएका छन् ।
उनले च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’ रहेको जनाएका छन्। आफूले विगतमा कानुनी अनुसन्धानका लागि कहिल्यै पनि त्यसको प्रयोग नगरेको भन्दै उनले त्यसका सामग्री गलत हुने कुरा थाहा नभएको जनाए। उनले कानुनी विषयका जानकारी सङ्कलन गर्न भविष्यमा आर्टिफिसिअल इन्जेलिजेन्सको प्रयोग नगर्ने पनि प्रतिबद्धता जनाएका छन् । उनी र च्याटजीपीटीबीच भएको कुराकानीको स्क्रिनशट पनि अदालतमा पेश गरिएको थियो।
‘के भर्गिसको मुद्दा वास्तविक हो?’ एउटा सन्देशमा सोधिएको छ जसले भर्गिस र चाइना साउदर्न एअरलाइन्स कम्पनी लिमिटेडबारेको मुद्दाको चर्चा गरेको छ । अरू वकिलले उक्त फेला पार्न नसकेको मुद्दामा पनि त्यो पनि पर्छ । च्याटजीपीटीले मुद्दा वास्तविक रहेको जवाफ दिएपछि ‘त्यसको स्रोत के हो?’ भन्ने प्रश्न सोधिएको छ। त्यसमा च्याटजीपीटीले उक्त मुद्दा वास्तविक भएको र लेक्सिसनेक्सिस र वेस्टलका तथ्याङ्क भण्डारमा त्यसबारे उल्लेख भएको जवाफ दिएको थियो ।
दुवै जना वकिलहरूलाई आगामी जुन ८ तारिखमा हुने सुनुवाइमा कारबाही किन नगर्ने भन्ने जबाफ दिन अदालतले आदेश दिएको छ । सन् २०२२ को नोभेम्बरमा सार्वजनिक गरिएको च्याटजीपीटीको प्रयोग दशौँ लाख व्यक्तिले गरेका छन् । उसले मान्छेकै जस्तो शैलीमा प्राकृतिक ढङ्गले जवाफ दिन सक्छ र अरू लेखन शैलीलाई पनि अपनाउन सक्छ। इन्टरनेटमा भएका विवरणका आधारमा उसले जवाफ दिन्छ । आर्टिफिसिअल इन्टेलिजेन्सका कारण मिथ्या सूचना फैलिनसक्ने र पूर्वाग्रह प्रकट हुनसक्ने चिन्ताहरू व्यक्त भएका छन्।
बीबीसीबाट