दुई हजार वर्ष पुरानो ’कम्प्युटर’ को रहस्योद्घाटन गर्न वैज्ञानिकहरू सफल
संसारकै सबैभन्दा पुरानो कम्प्युटरको सङ्ज्ञा दिइएको एउटा २ हजार पुरानो यन्त्रले कसरी काम गर्थ्यो भन्ने गुह्य पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन्। त्यसका लागि उनीहरूले त्यसको पुनःरचना गरेका थिए ।
’एन्टिकाइथेरा मेकनिजम’ नाम दिइएको उक्त उपकरण रोमनकालमा ग्रीसमा बिग्रिएको एउटा पानीजहाजको भग्नावशेषमा सन् १९०१ मा फेला परेको थियो । उक्त उपकरण चलाउन हातले दम दिनुपथ्र्यो । त्यसको प्रयोग ग्रहण र अन्य खगोलीय घटनाको गणना गर्न हुने गरेको अनुमान गरिएको छ । तर भेटिँदा उक्त उपकरणको एकतिहाइ भाग मात्र यथावत् थियो।
त्यसैले अनुसन्धानकर्ताहरूले सग्लो अवस्थामा उक्त उपकरण कस्तो देखिन्थ्यो र त्यसले कसरी काम गर्थ्यो होला भन्ने अनुमान गर्नुपरेको थियो । यूनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले थ्रीडी कम्प्युटर मोडलिङ प्रयोग गरेर त्यसको पनि रहस्योद्घाटन गरिएको बताएका छन् ।
उनीहरूले पूरै अग्रभागको प्रारूप बनाएका छन् र आधुनिक सामग्री प्रयोग गरेर पूर्ण स्वरूपमै एन्टिकाइथेरा यन्त्रको प्रतिलिपि बनाउन सकिने अपेक्षा गरेका छन् । फेला पर्दा यो उपकरणको दुईतिहाइ भाग नष्ट भइसकेको थियो । शुक्रवार ’साईअन्टिफिक रिपोर्ट्स’ नामक जर्नलमा प्रकाशित शोधले गिअरिङ प्रणालीको वृत्तान्त र त्यसका जटिल भागबारे चर्चा गरेको छ ।
उक्त शोधपत्रका मुख्य लेखक प्राध्यापक टोनी फ्रीथले भने, ‘सूर्य, चन्द्रमा र ग्रहहरूलाई प्राचीन ग्रीक कौशलअनुसार प्रभावकारी रूपमा देखाइएको छ।’ ‘हाम्रो मोडल सबै भौतिक प्रमाणसँग र उक्त यन्त्रमा उल्लिखित वैज्ञानिक अभिलेखसँग मेल खाने पहिलो मोडल हो,’ उनले भने। उक्त उपकरणलाई एउटा ज्योतिषीय वा खगोलीय क्याल्क्युलेटर तथा संसारकै पहिलो एनलग कम्प्युटर का रूपमा प्रस्तुत गरिएको छ ।
ढलोट प्रयोग गरेर निर्माण गरिएको यो उपकरणमा दर्जनौँ गिअरहरू छन् । सयौँ सुनका सिक्का भएको ११ सय वर्ष पुरानो गाडधन भेटियो
पृष्ठभागको ढकनीमा ब्रह्माण्डीय संरचनाको वर्णन छ। त्यसमा उक्त उपकरण निर्माण गर्दा चिनिएका पाँचवटा ग्रहहरूको गति देखाइएको छ । सन् १९०१ उक्त उपकरणका ८२ वटा टुक्रा फेला परेका थिए । वैज्ञानिकहरूले एक्स–रे डेटा र प्राचीन ग्रीन गणितीय पद्धति प्रयोग गरेर पूर्ण आकृतिको पुनर्रचना गरेका थिए।