यी हुन् युट्युबबाट २.६ करोड डलर कमाउने आठ वर्षीय बालक



खेलौनाहरूको समीक्षा गर्दै युट्युबमा भिडिओ प्रेषित गर्ने आठ वर्षीय बालक लगातार दोस्रो वर्ष युट्युबबाट सर्वाधिक रकम कमाउने व्यक्ति बन्न सफल भएका छन्।

र्‍यान्स वर्ल्ड अर्थात् र्‍यानको संसार नामक कार्यक्रम चलाउने गरेका र्‍यान युट्युबबाट सन् २०१९ मा २.६ करोड अमेरिकी डलर कमाउन सफल भएका छन्। उनले सन् २०१८ मा २.२ करोड डलर कमाएका थिए।

फोर्ब्स म्यागजीनले युट्युबबाट सर्वाधिक रकम कमाउने उत्कृष्ट १० जनाको सूचीमा उनलाई राखेको छ।

जुन २०१८ देखि जुन २०१९ सम्मको अनुमानित कमाइको आधारमा फोर्ब्सले त्यो निष्कर्ष निकालेको हो।

उनीपछि बढी रकम कमाउनेमा ड्यूड पर्फेक्ट दोस्रो स्थानमा र नास्ट्या तेस्रो स्थानमा आएका छन्। उनीहरूले क्रमश: दुई करोड र एक करोड ८० लाख अमेरिकी डलर कमाएको फोर्ब्सको सूचीमा उल्लेख छ।

त्यो विवरणअनुसार सन् २०१९ का १० उत्कृष्ट युट्युबरहरूले अनुमानित कुल १६ करोड २० लाख डलर रकम आर्जन गरेका छन्।

कमाइ

ड्यूड पर्फेक्टले ३० वर्ष उमेर काटेका पाँच साथीहरूले नेर्फ गन र अन्य खेलौनाहरू लिएर विभिन्न प्रकारले तारो हानिरहेको देखाउने गरेको छ।

नास्ट्याले चाहिँ दक्षिण रुसमा जन्मिएकी सेरब्रल पल्सी अर्थात् मस्तिष्कको पक्षाघात भएकी एनास्तासिया राड्जिन्स्कायालाई देखाउने गरेको छ।

त्यस्तै जेफ्री स्टारको युट्युब च्यानलमा उनले शृङ्गार गर्न सिकाएका दर्जनौँ भिडिओहरू छन्।

फोर्ब्सले विज्ञापन, प्रायोजित सामग्री र अन्य सरसामान बिक्रीबाट आउने आम्दानीको हिसाब अनुमान गरेको छ। त्यो कर तिर्नुअघि युट्युब च्यानल सञ्चालकले कमाउने रकमको अनुमान हो।

र्‍यान को हुन्?

र्‍यान आफ्ना आमा, बुवा र जुम्ल्याहा दिदीबहिनीहरूसँग अमेरिकाको टेक्ससमा बसोबास गर्छन्। उनी दिनहुँजसो युट्युबमा भिडिओ हाल्ने गर्छन्

युट्युबमा उनलाई दुई करोड जनाभन्दा बढी प्रयोगकर्ताले सब्स्क्राइब गरेरै पछ्याएका छन्।

दशौँ लाख मानिसले उनका भिडिओ प्रत्येक दिन हेर्ने गर्छन्। केही भिडिओ त एक अरबभन्दा बढी पटक हेरिएको छ।

उनले आफ्ना भिडिओहरू “मनोरञ्जक र रमाइला” हुने गरेकोले धेरै मानिसले मन पराउने गरेको गत वर्ष अमेरिकी टेलिभिजन एनबीसीलाई बताएका थिए।

उनको सबैभन्दा धेरैले रुचाएको भिडिओलाई एक अर्ब ९० करोड जनाले हेरिसकेका छन्। पाँच मिनेट लामो त्यो भिडिओमा उनी बगैँचामा दौडिरहेको र त्यहाँ भित्र खेलौना भएका प्लास्टिकका अण्डाहरू खोजिरहेको देखिन्छ।

सन् २०१७ र २०१८को बीचमा उनको अनुमानित आम्दानी दुई गुनाले बढेको थियो। त्यसपछि उनले आफ्नो खातको नाम “टोएज रिभ्यू” राखेका छन्। पहिले त्यसको नाम र्‍यान्स वर्ल्ड थियो।

“युट्युबर्स” नामक पुस्तकका लेखक एवं इन्टरनेट संस्कृतिबारे कलम चलाउँदै आएका क्रिस स्टोकेल वाल्करले बीबीसीसँग भने, “युट्युब च्यानल खोलेर अनेक काम गर्ने मानिस सफल हुँदैनन्। ९६.५ प्रतिशत युट्युबरहरू विज्ञापनबाट धेरै कमाएर अमेरिकाको गरिबीको रेखा पनि पार गर्न सक्दैनन् किनभने धेरैभन्दा धेरै मानिस आइरहेकाले प्रतिस्पर्धा एकदमै बढ्दैछ।”

अमेरिकी नीति अनुसन्धान संस्था पिउ रिसर्च सेन्टरका अनुसार बालबालिकाहरू समाटिएका युट्युब भिडिओलाई अन्य भिडिओलाई भन्दा तीनगुना बढी मानिसहरूले रुचाउने गर्छन्।

बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

चालक दलका सदस्य एकाएक विरामी भएपछि एयर इन्डियाका ७० उडान रद्द

बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दाबढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक