भारतको ‘पीएम गतिशक्ति’ कार्यक्रम आँखा चिम्लेर किन स्वीकार गरेको ?


–डा. भीम रावल
प्रधानमन्त्रीको भारत भ्रमण कति लामो वा छोटो भयो, कति मीठा शब्दावली प्रयोग भए र अँगालो कति कसिलो हालियो भन्ने कुरा भन्दा परिणाम कस्ता आए भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ । भ्रमणका अवसरमा गरिएका सहमति, सम्झौता र घोषणाले नेपालको राष्ट्रिय हित, स्वाधीनता, अखण्डता र स्वाभिमानमा कति ठोस योगदान पुर्यायो भन्ने आधारमा हेरिनुपर्छ । यसरी हेर्दा समग्रमा अपेक्षित परिणाम आएको देखिन्न । ऋण र अनुदान पहिले पनि हुन्थे । ऋण दिएको पनि एक्जीम बैंकले हो । बैंकका शर्तहरु कडा छन् र ती पूरा नभएमा ऋण आउँदैन । लिएको ऋण खर्च नभए उल्टै ०.५ प्रतिशत ब्याज भारतीय बैंकलाई तिर्नुपर्छ । नेपालको माग अनुसार भारतले हवाई क्षेत्र दिएन ।

अयोध्याको रेल नेपालसम्म आउनु नेपालको लागि मात्र होइन । नेपाल भारतको एकाधिकार बजार जस्तै छ तर नेपालका कृषि उपज लगायतका बस्तुहरुको भारत प्रवेश तथा चुलिदो व्यापार घाटा कम गर्नेबारे कुनै कुरा भएन । नेपालले मागेको बन्दरगाह पनि भारतले दिएन । दिएका बन्दरगाह तत्काल उपयोग गर्नसकिने स्थिति देखिन्न । माथिल्लो कर्णाली १८ वर्षदेखि भारतीय कम्पनीले अलपत्र पारेको छ, पश्चिम सेती जलविद्युत् आयोजना निर्माण सुनिश्चित छैन । तर नयाँको शिलान्याश भएको छ । टनकपुर बाँधबाट नेपालले अत्यन्त कम पानी पाइरहेको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कुरैमा मात्र सीमि छ ।

कोशी ब्यारेज बनाउँदा डुबानमा परेको नेपालको उर्बर भूमिको मुआब्जा कैयौं किसानले अहिलेसम्म पाएका छैनन् । तर नेपालले थप क्षति ब्यहोर्नु पर्ने सप्तकोशी र सुनकोशी आयोजनाको कुरा अघि बढाइएको छ । १९५० को असमान सन्धि र प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनबारे चर्चा भएन । लिम्पियाधुरी, लिपुलेक र कालापानी लगायतका अतिक्रमित नेपाली भूभागबारे प्रधानमन्त्री बालेन्द्र साहले कुनै कुरा उठाउनु भएन । उल्टै उहाँको भ्रमणको अन्तिम दिन भारतीय विदेश सचिवले लिपुलेक भारतको भएको भन्ने सार्वजनिक अभिव्यक्ति दिए । रास्वपा सरकार मौन छ । भारतलाई लाभैलाभ नेपाललाइ सधैं विलाप । भएका सम्झौता, सहमति र घोषणाले थप प्रश्न उत्पन्न भएका छन्ः

–राज्यको मर्यादा, गरिमा र शक्तिको प्रतिक परम्परागत सलामी नेपालमा नलिने अनि भारतमा किन लिएको ? के नेपालको सार्वभौतिकसत्ता र गरिमा कसैको भन्दा कम हुन्छ र ?

– के कुनै फरक सार्वभौम देशको विकास, शासनपद्धति, शासन संचालन, शिक्षा, र सुरक्षा लगायतको ढाँचा ‘सहकार्यको पुनःपरिकल्पना’ को नाममा अर्को देशसंग संयुक्त हुनसक्छ र ? देश भित्र राज्य र राजनीतिका स्थापित निकाय र संस्थामा छलफलै नगरी अर्को देशको राजधानीमा गएर यसो गर्नु राष्ट्रिय स्वाधीनता तथा अन्तर्राष्ट्रि कानूनको सन्धि–सम्झौता सम्मत हुन्छ र ?
– भारतीय पत्रकार सुधीर चौधरीले प्रधानमन्त्री बालेन्द्र साहले भारतीय प्रधानमन्त्रीसँग पूर्वी भारतको ‘चिकन नेक’ भनिने संवेदनशील सामरिक स्थानलाई फराकिलो बनाउन नेपालको १५० किलोमिटर भूमि पैसा वा भूमिसँग साटेर भारतलाई सुम्पन सहमति गरेको कुरा सार्वजनिक गरेका छन् । के यो साँचो हो ?

– नेपालले कहिल्यै पनि विदेशीको प्रत्यक्ष संलग्नता स्वीकार नगरेको नेपाल प्रहरी, निजामति प्रशासन र कृषिमा भारतसंग अलग–अलग सम्झौता गरी सम्बन्धित भारतीय संस्थाहरुको भूमिका स्वीकार गरिएको भन्ने सम्झौताका शीर्षकबाट बुझिन्छ । यी सम्झौता नेपालको परराष्ट्र मन्त्रालयको वेभसाइटमा खोज्दा राखिएका छैनन् । यी सम्झौता रास्वपाको सरकारले कहिले सार्वजनिक गर्छ ?
– नेपालका प्राथमिकताका आयोजनामा भारतलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्ने १९५० को असमान सन्धिको व्यवस्थालाई नेपालले निकै पहिलेदेखिनै व्यवहारमा निस्क्रिय तुल्याइसकेको हो । यस्तो विषयलाई फेरी किन व्युताएको ?

– दुई देशको सीमा खुला राख्ने कुनै सन्धि, सम्झौता र सहमति नेपालले गरेको छैन । तर प्रधानमन्त्री बालेन्द्र साहले ‘सहकार्यको पुनःपरिकल्पना’ मा सीमा खुला राख्ने भनी किन सहमति गरेको ?

– विगतमा नेपालका प्रधानमन्त्रीहरुले अस्वीकार गर्दै आएको भारतको ‘पीएम गतिशक्ति’ भन्ने कार्यक्रम देशमा कुनै छलफल नै नगरी आँखा चिम्लेर किन स्वीकार गरेको ?

– ऋण ब्याज तिरेर लिने हो र आफ्नो आवश्यकताका क्षेत्रमा खर्च गर्ने हो । तर ऋण पनि कुन क्षेत्रमा खर्च गर्ने भन्ने भारतसंग सहमति हुनुपर्ने कुरा किन स्वीकार गरेको ?

– विगतमा पनि भारतले नेपाललाई ‘लाइन अफ क्रेडिट’ अन्तर्गत १ अर्ब डलर ऋण दिने कुरा गरेको हो । अर्ब दिएको पनि हो । तर यसरी प्राप्त हुने ऋणको उपयोग गर्ने आयोजनामा ७५ प्रतिशत भारतीय सामग्रीको प्रयोग हुनुपर्ने र प्रयोग हुननसकेको रकमको ०.५ प्रतिशत ब्याज तिर्नुपर्ने शर्त भएकोले उक्त ऋण सबै प्रयोग हुननसकेको र ठूलो रकम लिन अस्वीकार गर्नुपरको विगतको इतिहासबारे सरकारलाई जानकारी छ कि छैन ?

– १९५० को सन्धि र सीमा अतिक्रमणबारे विगतमा समय–समयमा नेपालको तर्फबाट भारत समक्ष कुरा उठाइएको हो । यस पटक वार्तामा सो कुरा नउठेको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् र प्राधानमन्त्री बालेन्द्र शाहको भ्रमणकै समय पारेर भारतीय विदेश सचिवले प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन पुरानो भएकोले औचित्य छैन भनेका छन् । यो संयोग हो कि योजनाबद्ध ?

– १९५० लगायतका सन्धिलाई पुनरावलोकन गर्नसकिने भनी ‘सहकार्यको पुनःपरिकल्पना’ मा उल्लेख छ । लगायत भन्नाले अरु कुन सन्धि हुन् र पुनरावलोकनमा समावेश गरिनुपर्ने सन्धिका कुन कुन धारा हुन् भन्नेबारे सरकारको धारणा के हो ?

प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा कूटनीतिक मर्यादासँग सम्बन्धित भारतका विभिन्न व्यक्तिहरुले के–कस्ता कुरा उठाए भन्नेबारे प्रधानमन्त्री कार्यालयले राम्ररी अध्ययन गर्नु उचित हुनेछ ।
थप तथ्य क्रमशः खुल्दै जानेछन् ।