कर्णाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।
प्रमुख सचेतक जिसीका अनुसार नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै ३२ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय भएको हो । बुधबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
नेकपाका ११ जना सांसद र नेपाली काँग्रेसका पाँच जना सहित १६ जना कर्णाली प्रदेशसभा सदस्यको हस्ताक्षरसहित साउन ३२ गते कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद छन् ।
कर्णाली प्रदेशमा नेपाली काग्रेसको समर्थनमा नेकपा एमालेका यामलाल कँडेलले सत्ताको नेतृत्व गरिरहेका छन् ।
नेपाली काँग्रेसबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाहले मुख्यमन्त्रीलाई गतसाता राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया