काठमाडौं । कांग्रेस असन्तुष्ट पक्षले ६ साउनमा संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४४औं स्मृति दिवस छुट्टै मनाउने भएको छ ।
काठमाडौंको प्रज्ञा भवन कमलादीमा दिवसको समारोह आयोजना गर्न पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको उक्त समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए । साथै आवश्यकताअनुसार प्रचारप्रसार समिति, व्यवस्थापन समितिलगायत विभिन्न समितिहरु गठन गरिने उनले बताए ।
कांग्रेसका केन्द्रीय निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी तथा सदस्यहरूलगायतको उपस्थितिमा १५औं महाधिवेशन तयारी सम्पर्क कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
उक्त समूहले पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिका बाबजुद धैर्यता अपनाई निरन्तर पार्टी एकताको प्रयास गरिरहेको आइतबार पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ ।
‘निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको फैसला आउँदा पनि विधिको शासन र न्यायिक स्वतन्त्रताको पालना गर्दै पार्टी एकताकै लागि पहल गरिरहेका छौं, आयोग र अदालतबाट मान्यता पाएको पक्षबाट भेटघाट, वार्ता र संवादका विषयमा सार्वजनिक हल्ला भएजस्तो सम्बन्धित पक्षसँग औपचारिक भेटघाट गरेको, ठोस प्रस्ताव राखेको अवस्था होइन, छैन,’ नेता विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधरहरूले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरु अघि सारेर एकतालाई असहज बनाए भनी चलाएका बजार हल्लाहरु निराधार, मिथ्या र भ्रामक भएको सो समूहको दाबी छ ।
पार्टी एकताका लागि नियमित महाधिवेशन पक्षले निरन्तर प्रयास गर्ने, हदैसम्मको लचकता अपनाउने, संवादपश्चात् लामो धैर्यता पनि राख्ने गर्दा गदै विवादपश्चातको ७ महिना र अदालतको फैसला पछिका ४ महिना बितिसक्दा पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले कुनै सार्थक तथा उपलब्धिमूलक पहल गरेको वा गर्न चाहेको जस्तो नदेखिएको सो समूहको आरोप छ ।
पार्टीभित्र बलियो एकता कायम गरी नेपाली जनताको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यले नीतिगत रुपमा राष्ट्रिय बहस र छलफल गरी नयाँ कार्यदिशा तय गर्न नियमित महाधिवेशन पक्षधरले यही साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेको जनाएको छ ।उक्त भेलाको मिति, समय र स्थान ६ साउनमा हुने बिपी स्मृति दिवसको कार्यक्रममार्फत सार्वजनिक गरिने नेता विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया