भूमि आयोगले पायो पूर्णता, यस्ता मन्त्रिपरिषद बैठकका अरु निर्णय


काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा पोखरेलको बढुवा गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो।

त्यसैगरी बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त अध्ययन समितिको कार्यावधि ४५ दिनका लागि थप गरिएको छ ।

यसैगरी भूमि व्यवस्थासँग सम्बन्धित अर्को निर्णय गर्दै सरकारले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नियुक्ति गरेको छ। निर्णय अनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ। समितिको सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा. रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।