-रक्षा बम ।
वैशाख १२ गते जसरी बालेन सरकारको आदेशमा सुकुम्बासी बस्तीहरू भत्काइएका छन्, यसको प्रक्रिया कुनै पनि हालतमा सही छैन/थिएन । केही समय दिएर को सुकुम्बासी हुन्, को होइनन् भन्ने प्रमाणीकरण गर्न सकिन्थ्यो। सही सुकुम्बासीलाई उसको मर्यादासहित पुनस्र्थापित गर्न सकिन्थ्यो। जो नक्कली सुकुम्बासी हुन्, उनीहरूलाई अतिक्रमण गरेबापत कानुनको दायरामा समेत ल्याउन सकिन्थ्यो। तर बालेनले हिजो मेयर हुँदा पूरा गर्न नसकेको कामलाई आज प्रधानमन्त्री हुँदा जुन हतारका साथ बस्ती खाली गराउन राज्यको सिंगो संयन्त्र लगाएका छन्, यो हतार नै के का लागि हो ? खैर, उनी भत्काउन खुब सिपालु छन् । बनाउनका लागि त प्रेम चाहिन्छ, सद्भाव चाहिन्छ। सहनशीलता र धैर्यताको पनि उत्तिकै आवश्यकता हुन्छ ।
यदि विधि र प्रक्रिया मिचेरै काम गर्ने हो भने त, यसअघिका सरकारले पनि गरेका थिए । जवाफदेहिता बहन नगर्ने हो भने, यसअघिका सरकारहरू जवाफदेहिताबाट निकै टाढा थिए। सिंहदरबार त यसअघि पनि विधि र प्रक्रियाको बेवास्ता गर्दै चलेकै थियो । आफ्नो दम्भ जोगाउन प्रक्रिया अरूले पनि मिचेकै थिए । पारदर्शिता नदेखाएकै कारण, जवाफदेहिता वहन नगरेकै कारण अन्ततः ती तमाम सत्ताधारीहरूले नमीठो बहिर्गमन भोग्नुपर्यो । हामी चाहन्छौँ, बालेन सरकार त्यो बाटोमा नजाओस् ।
यतिखेर एकातिर झरी परिरहेको छ। सुकुम्बासीहरू अर्कोतिर छन् ।
झन् अर्कोतिर छ, उनीहरूको सामानको थुप्रो । सुकुम्बासी व्यवस्थापनको नाममा उनीहरूलाई लजमा राखिने त भनिएको छ, तर कति दिनसम्म राख्ने ? अनि त्यसपछि उनीहरूलाई कता धपाउने हो ? उनीहरूले पाउनुपर्ने आवास तथा रोजगारीको हक अब कसरी पाउँछन् ? सुकुम्बासी बस्तीहरुमा त्रासपूर्ण अवस्था रहँदा बालबालिका र वृद्धवृद्धाको मानसिक स्वास्थ्यमा कस्तो असर परेको होला ? यि सबै प्रश्नहरू यथावत नै छन् ।
खैर, म सम्झन्छु हिजो एक जना सुकुम्बासी आमाले रुँदै भन्नुभएको थियो, ‘हामीलाई त अब बालेनकै आशा छ। उसैले जे गरोस् । सरकार हो नि ऊ ।’ यो झिनो आशालाई जोगाइराख्ने तपाईको कर्तव्य हो । हामी तपाईँहरूले गर्ने व्यवस्थापन कस्तो हुनेछ, त्यो हेरिरहेका छौँ।

प्रतिक्रिया